© २०२३
सैनामैना, ३ मङ्सिर ।
नेपाली साहित्यको जगतमा एउटा छुट्टै नाम स्थापित गर्न सफल मुक्तककार प्रतिमा के.सी.को नयाँ मुक्तक सङ्ग्रह विमोचन भएको छ । प्रतिमा केसी’प्रवासी’ द्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह शनिवार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लव तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा के. सी.को दोश्रो कृतिका रुपमा मुक्तक संग्रह प्रवासी मन विमोचन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले मुक्तक विमोचन गर्दै सहित्यले मानिसलाई अनुशासनमा बस्न र हिड्न सिकाउने बताए । संसारमा जतिपनि परिवर्तन भएका छन ती परिवर्तनहरुमा साहित्यकारहरुको रचनात्मक खवरदारीले मात्र भई आएको उनले बताए ।
कार्यक्रमका पुस्तक समिक्षक एवम् क्याम्पसका पूर्व क्याम्पस प्रमुख यदुलाल पन्थले कृतिको समीक्षा गर्दै समाजिक असमानता, विसङगतिको चित्रण र व्यङ्ग्य गर्दै जीवनवादी जिवन्त दृष्टिकोण भएको र पुस्तक एउटा महाकाव्यकै रुपमा रहेको वताए ।
कार्यक्रममा मुक्तककार प्रतिमा केसीले आफ्नो केही कृतिहरु सुनाएकी थिइन् । कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे लगायत थुप्रै साहित्यप्रेमीहरु सहभागी थिए ।
त्यस अवसरमा क्याम्पस प्रमुख हेमन्त थापा, प्रतिमा कुमार फाउण्डेसनका सदस्य कुमार केसी, साहित्य क्लवका अध्यक्ष सुप्रिया अञ्जलीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।