© २०२३
चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।
छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा तीन दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।
बिहीवार बेलुकीमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी–सिकारबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँच वटा गैँडा मरेका छन् । गएकाे वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैँडा मारेका थिए ।