© २०२३
भारत प्रवास त्यो पनि नयाँदिल्लीमा बसाईकै क्रममा मैले पाँच सात दिन लगाएर बिभिन्न पार्कमा घुमी त्यसरी पार्कमा लावारिस जस्ता देखिने नेपालीहरूका बारेमा जानकारी लिने कोसिसमा लागेँ । सुरु सुरुमा त उनीहरूका बारेमा जानकारी पाउन मलाई ज्यादै कठिन भयो । किनकि पार्कमा त्यसरी भेटिएका नेपालीहरू नचिनेका, उनीहरूका बारेमा निँदिखुदी गर्ने र नेपालको घर सोध्ने तथा नेपालीसित बोल्नै चाहँदा रहेनछन् । यदि बल्लबल्ल कोही बोलेपनि जानी नजानी हिन्दीमा बोल्दा रहेछन् । लगातारको प्रयासपछि तीन चार दिनपछि दिल्लीको कनौटप्लेसको पार्कमा उमेरले अलि पाका देखिने तीन चारजनासित भेट भयो । तिनीहरू मसित कुरा गर्न तयार भए । सर्वप्रथम मैले उनीहरूलाई विश्वासमा लिने प्रयास गर्न धेरै बिषयमा कुरा गरेँ तर म राजा र ब्यवस्था बिरोधी मोर्चाको अध्यक्ष हो र भारतमा अखिल भारत नेपाली बामपन्थी युवक मोर्चाको सङ्गठन बिस्तार गर्न आयेको हो भन्न सकिन । किनकि तिनीहरू सुदूर पश्चिम नेपालका शाही ठकुरीहरू रहेछन र नेपालको राजा र व्यवस्थाका कट्टर समर्थक । दोस्रो कुरा दिल्लीमा नेपालीहरूको हकहितका लागि भनेर खोलिएका सबैजसो सङ्गठनहरूले दिल्ली प्रवासमा बस्ने नेपालीहरूबाट चन्दा उठाएर खाँदा रहेछन । त्यसकारण उनीहरूले सङ्गठनको कुरा गर्नेलाई फटाहा भन्दा रहेछन । मैले उनीहरूका सबै बिचार सुनिसके पछि आफूले दिल्लीमा बस्ने नेपालीहरूका बारेमा सबै कुरा बुझेर एउटा पुस्तक छपाउन चाहेको मात्रै हो भने पछि उनीहरू मसित थप कुरा गर्न तयार भए । काम चौकिदारी भएपनि आपसमा कुरा गर्दा उनीहरूले बक्सियोस, राज होईबक्स्योस जस्ता बाक्य प्रयोग गरेको देखेँ पछि मैले पनि उनीहरूलाई राजा, बक्सियोस शब्द प्रयोग गर्न थालेँ । त्यसपछि त के चाहियो उनीहरू फुरिहाले । उनीहरूबाट जे जस्ता कुरा मैले थाहा पाएँ ती कुराले पूरा भारतमा बस्ने नेपालीहरूको अवस्थाको प्रतिनिधित्व गरेको महसुस भयो । हामी कुरामा यति गहिरो गरी डुबेछौँ कि जाडोको महिना घाम अस्ताचलबाट बिदा भएको र कर्नाटप्लेसको क्षेत्र बिजुलीको उज्यालोमा जगमगाएको समेत थाहा पाएन छौ । कठ्याङ्गिदो जाडो बढ्न थालेपछि मात्रै ए साँझ भएछ भन्दै हामी बिदा हुन थाल्यौ । बिदा हुने बेलामा ल राजाहरू, यहाँहरूको सहयोगका लागि म धेरै आभारी छु भन्दै हात जोड्दा एकजनाले सोधे– बाबु पनि ठकुरी होईबक्सन्छ ? मैले म ठकुरी त होईन, ठकुरीहरूको गुरु खानदानको मान्छे हो भनेपछि उनीहरू पनि हाँसे र मैले पनि हाँसो रोक्न सकिन ।
मैले धेरै दिनको प्रयासपछि युवक मोर्चाका लागि महत्वपूर्ण सामाग्री जुटाएपछि लेख्ने काममा लागेँ । सम्पाकीय, प्रकाशकीय, युवक मोर्चाको उद्देश्यका साथै भारतमा नेपालीहरूको अवस्था र त्यसबाट मुक्ति जस्ता सामाग्री तयार मात्रै पारिन ती सामाग्रीलाई तीन तीनपटकसम्म दोहो¥याएर लेखेँ । नेपाली भाषामा आजपनि म कमजोर छु । त्यतिबेलाको कुरा के गर्ने । अव भाषा मिलाउने काम बाँकी भयो । बाबुराम भट्टराईले त्यो समयमा ’जेएनयु’ बाट पिएचडी गर्दै थिए । उनलाई भाषा हेर्न दिनुपर्ला भन्दै थिएँ । मोहन बैद्य हरियाणा तिर घुमेर आईपुगे । मोहन बैद्यलाई मैले युवक मोर्चाका लागि तयार पारेको सामाग्री हेर्न दिएँ । मोहन बैद्य अलि एकान्तप्रिय मान्छे । उनले तपाई र म मात्रै एक दुई दिन एकान्त ठाउँमा बसेर यी सामग्री राम्रो सित हेर्न पाए हुन्थ्यो भन्न थाले । संयोगले डिलाराम आचार्यको एन्ड्यूगञ्जमा एउटा झुग्गी खाली रहेछ । हामी दुई दिन त्यही झुग्गीमा बसेर युवक मोर्चाको प्रकाशन सामाग्रीलाई अन्तिम रूप दियौ । मोहन बैद्यले मलाई मास्टर साहेब भन्ने गर्दछन । मास्टर साहेब तपाईको कलम त सलल बग्दो रहेछ तर भाषा शुद्धी र परिच्छेद मिलाउन पर्दोरहेछ । यस्तो अवस्थामा कलमलाई अडाएर लेख्नपर्छ । कतिपय बिषयलाई थप ब्याख्या बिश्लेषण पनि गर्नुपर्छ । कलम भगाउँदा ती बिषयहरू छुट्न सक्छन । तपाईले प्रबासी नेपालीका समस्याका बारेमा जति डुबेर सामाग्री तयार पार्ने प्रयास गर्नु भएको छ, त्यही स्तरमा ब्याख्या पुगेको छैन भन्दै लेखनकलाका बिषयमा धेरै ज्ञानबर्धक कुरा सिकाए । वास्तवमा मोहन बैद्य इमान्दार बामपन्थी नेता तथा हामी सबैका र प्रचण्डका पनि राजनीतिक गुरु हुन । तर शङ्कालु स्वभाव र कठिन अवस्था आउँदा खतरा मोलेर निर्णय गर्न नसक्ने र अलि उदार चरित्र उनको बिशेषता हो । गुरुभन्दा यहाँ एउटा रोचक प्रसङ्ग उद्धृत गर्न मन लाग्यो । २०४७ साल तिरको कुरा हो– नेकपा (एकता केन्द्र) को बैठकमा म काठमाण्डू गएको बेला प्रचण्डले भाष्करजी फिल्डबाट थाकेर आउनु भएको छ, कतै नास्ता गर्न जाउँ किरणजी भनेपछि हामी तिनजना पाटनको सान्य मम रेस्टुँराभित्र पुग्यौ । त्यतिबेला पार्टीको आर्थिक अवस्था ज्यादै कमजोर थियो । हामीहरूले लोकलबाटै थकाई मेटाउने काम गरेउँ । त्यसपछि अब हाम्रा राजनीतिक गफ सुरु भए । यही सिलसिलामा मैले प्रचण्डलाई साथी र बैद्यलाई गुरु भन्दा प्रचण्ड जुरुक्कै उठे । मसित दह्रो हात मिलाउँदै “ठिक भन्नुभयो, किरणजी हाम्रो गुरु हो भन्दा किरणजीले मास्टर साहेवले मलाई प्लेखानोव पो बनाई दिनुभयो भने । प्लेखानोव दक्षिणपन्थी भएपनि लेलिनले गुरु भनेका रहेछन । यो प्रसङ्ग धेरै लामो छ । मौका परे पछि चर्चा गरौला ।
२०४० देखि २०४६ सालसम्मको नेपालको बिशिष्ठ अवस्थामा मेरो कलम अबिरल रूपमा नै चल्यो । काठमाण्डूबाट प्रकाशित हुने पृष्ठभूमि, महिमा, गोर्खा एक्सप्रेस, समाज, लगायतका धेरै पत्रिका बिशेषगरेर जनादेशले मेरा लेख छापे भने बुटवलबाट प्रकाशित हुने सबैजसो खासगरेर दैनिक लुम्बिनीमा लगातर प्रकाशित भैरहे । २०४६ सालदेखि २०५६ सालसम्म यदाकदा मात्रै मेरो कलम चल्दा म पुनः सिकारु जस्तै भएछु । २०५७ सालदेखि फेरी भूमिगत भएर रोल्पा, रुकुम, सल्यान तिर बस्दा केबल दैनिकी मात्रै लेख्न सकियो । जनयुद्धको उत्तराद्र्धतिर बिरामी भएर लखनऊमा उपचारका लागि बस्दा भक्ति पाण्डेले दाई तपाईले लेखन बन्द गर्न हुन्न । तपाईले जनादेशका लागि लेख्न थाल्नुस भनेपछि मैले पुनः लेख्न थालेँ र गोपी ज्ञवालीको सहयोगले जनादेशमा लेखहरू छपाउने काम हुन थाल्यो ।
शान्ति प्रकृया सुरु भएपछि फेरी लेख्ने काम बन्द भयो । २०६४ साल तिरको कुरा हो । पत्रकार वसन्त पोखरेलसित बुटबलमा भेट हुँदा उहाँले मेघराज ज्ञवाली नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि तयार भएको व्यक्तित्व हो । त्यसकारण मेघराज ज्ञवाली यसरी गुमनाम भएर बस्न पाउदैन । अव तपाईले आफ्ना अनुभवका कुरा मात्रै लेखिदिए पनि आउने पिँडीलाई नेपालको बाम आन्दोलनको इतिहास बुझ्न ठूलो सहयोग हुनेछ भनेपछि मैले पनि फेरी लेख्न सुरु गरेँ । त्यो समयमा बसन्त पोखरेलले बुटबलबाट प्रकाशित हुने दैनिकपत्रको सम्पादन गर्दा रहेछन । लगभग दुई बर्षसम्म दैनिकपत्रमा मेरा लेख छापिदै गरे । बसन्त पोखरेलले दैनिकपत्र छाडेपछि पनि केही समय त दैनिकपत्रलाई लेख दिदै गरे । त्यसपछि मैले विपश्यनातिर धेरै समय दिन थाले पछि लेख्ने काम बन्द भयो । लगभग दुई बर्षपछि बनबाटिकामा पुराना साथीहरू सितको भेटघाट कार्यक्रममा मलाईपनि बोलाईएको थियो । बनबाटिकाको भेटघाटमा त वसन्त मसित रिसाउदै भने– तपाईले आन्दोलनप्रति अन्याय गर्दै हुनुहुन्छ, पाठकप्रति अन्याय गर्दै हुनुहुन्छ । यस्तो अन्याय गर्न हुँदैन । जतिसको लेखेर मलाई पठाउनुस भन्दै आफनो इमेल दिए । त्यतिबेला पोखरेलले बुटवल टुडेमा सम्पादकको काम गर्दा रहेछन । वन बाटिकाको भेटघाटपछि लगातार दुई बर्ष जति बुटवल टुडेमा पनि मेरा लेखहरू छापिदै गरे । तर म विपश्यनाको क्षेत्रमा अरू ब्यस्त हुन थालेपछि लेख्ने काम बन्द भयो । यसपटक पाठकहरूले सोझै फोन गरेर लेख्न किन बन्द गरेको भन्न थाले । अरू त अरू कपाल काटने सैलुनको भाईले पनि सरका मिठा मिठा लेखहरू पढ्न पाउन छाडियो भनेर गुनासाहरू सुनाउन थालेपछि मैले कमसेकम महिनामा एउटा सम्म भएपनि लेख लेख्नुपर्छ भन्ने अठोटका साथ यो यात्रा शुरु गर्दैछु ।
बिश्रामपछिको पुनः यात्रा सुरु गर्दा मलाई भूमिगत अवस्थामा होस वा खुला अवस्थामा कलम चलाउन छाडन हुन्न भनेर घचघचाई रहने मेरो शुभचिन्तक प्रिय मित्र बसन्त पोखरेल जसको पार्थिव शरीरलाई म विपश्यनाको दीर्घ शिबीरमा सहभागी भएका कारणले श्रद्धाञ्जली दिने अनुकूलता मिलेन । विपश्यनाको शिबीर बाट बाहिर निस्कँदा बसन्त पोखरेल अतीतको पात्र र श्रद्धाञ्जलीको बिषय प्रसङ्ग बाहिर भैसकेको रहेछ । तर, मेरो मनमा बसन्तलाई उनको जीवनको अन्तिम अवस्थामा भेटन नपाएको र उनलाई एउटा थुङ्गा फुलले बिदाई गर्न नपाएको कुरा एउटा भारी जस्तो रहिरह्यो । त्यसकारण यो बिश्रामपछिको पहिलो थुङ्गाको श्रद्धा सुमन स्वर्गीय पत्रकार मित्र बसन्त पोखरेलको सम्झनामा । प्रिय मित्र बसन्त तिमी मानव जीवन पछिको यात्रामा जहाँ जुन अवस्थामा भएपनि सुखी रहोउ । दुःख मुक्त होउ । तिमीलाई तिम्रो विपश्वी मित्रले श्रद्धाञ्जलीका रूपमा यही मैत्री दिन्छ ।