© २०२३
पाल्पा, १८ कार्तिक– रामपुर नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा बुक फ्रि फ्राई डे कार्यक्रम लागु गरेको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको नगर प्रमुख सहितको एक टोलीले अनुगमन गरेको छ । रामपुर नगरपालिकाले विद्यालयमा यस आर्थिक बर्षबाट सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।
कार्यक्रम अन्तर्गत विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यवहारिक सिप सिकाईन्छ । कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान, रामपुर आधारभूत विद्यालय रामपुर ५ कान्जीहाउस र नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा सञ्चालित बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।
नगर भित्रका विभिन्न विद्यालयहरूमा बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरूलाई संस्कार सहितको व्यवहारिक ज्ञान प्रदान गर्नका लागि बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरिएको बताए । साथै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई सोही कला र क्षमताको विकास गर्न यो कार्यक्रमको अवधारणा ल्याइएको बताए । नगर प्रमुख थापाले विद्यार्थीहरूको आवश्यकता र चहानालाई समेटेर हरेक विद्यालयले यो कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे । विद्यालयमा दिइने सैद्धान्तिक ज्ञान व्यवहारिक नहुने र असल व्यक्ति नहुने भन्दै व्यवहारिक ज्ञानले मात्र असल व्यक्ति बनाउने उल्लेख गरे । किताबी ज्ञानले मात्र सबै शिक्षा पुरा नहुने भन्दै बुक फ्रि फ्राई डे कार्यक्रमले व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने बताए ।
यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कक्षामा दिईने शिक्षाले केही हद सम्मको शिक्षा प्रदान गरे पनि व्यवहारिक शिक्षा प्राप्त नहुने बताए । नगर क्षेत्रको शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउनका लागि नगरपालिकाले बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताए । यसैगरी रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल कफ्लेले नगरले लिएको शिक्षा नीति अन्तर्गत सबै विद्यालयले यो कार्यक्रमलाई निरन्तरता दिएको र विद्यार्थीहरूको व्यवहारमा पनि परिवर्तन आएको बताए ।
कार्यक्रम अन्तर्गत बार्षिक रूपमा कार्यतालिका बनाएर विद्यार्थीहरूलाई विभिन्न व्यवहारिक सिप सिकाउँदै आएको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले जानकारी दिए । विद्यार्थीहरूमा रहेका प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गरि विद्यार्थीहरूको भविष्य निर्माणमा सहज हुने विश्वास लिएको कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पाका प्रधानाध्यापक मनीराज अधिकारीले बताए । विद्यार्थीहरूलाई हस्तकलाका सामग्री निर्माण , रहन सहन , कला संस्कृति सम्बन्धि सिकाई संगै विद्यार्थीहरूको दिगो सिकाईका निम्ती सहयोग पु¥याएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले भने । कार्यक्रम अन्तर्गत यी विद्यालयहरूमा शुक्रबार विद्यार्थीहरूलाई फुलको माला बनाउन सिकाईएको थियो । हाम्रो नर्सरी फम रामपुरका सञ्चालक दिल बहादुर थापाले फुलको माला गाँस्न सिकाए । नगर भित्रका विद्यालयले प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि फ्राई डे कार्यक्रम अन्तर्गत विभिन्न व्यवहारिक ज्ञान सिप सिक्दै आएका छन् ।