Butwal Today

सरकार हरेक क्षेत्रमा असफल भयो : विष्णु पौडेल

१६ कार्तिक २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, १६ कात्तिक ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको बताएका छन्।

बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले सरकारको कारणले सदनको कामकारबाही पनि प्रभावकारी हुन नसकेको आरोप लगाए। उनले प्रतिनिधिसभाको यो अधिवेशन निराशाजनक भएको चर्चा गर्दै यसको मुख्य जिम्मेवार सरकार नै भएको बताए।

उनले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेपनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने दाबी गरे।

फागुन १ लाई हिंसा सुरु भएको दिन भन्दै पौडेलले यदि फागुन १ गते जनयुद्ध दिवस मनाउनुपर्छ भन्ने सरकारलाई लागेको भए त्यो प्रस्ताव सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौति दिए।