© २०२३
बुटवल, १५ कार्तिक । बुटवल ६ चाँदबारीस्थित खोलामा शंकास्पद रूपले मृत अवस्थामा फेला परेका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवारले चिन्ता ब्यक्त गरेका छन् । झण्डै आठ महिनाअघि गत फागुन २४ गते राती राम बहादुरको शंकास्पद रूपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पिडित परिवारले गुनासो गरेका छन् ।
ट्राफिक चौकस्थित पुरानो बुटवल चलचित्र हलको पछाडीतिर होटेल संचालन गरि दिपनगर बस्ने रामबहादुरको राती घरजाने क्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रूपमा मृत फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको श्रीमती अम्बी रानाले गुनासो गरेकी हुन । मृतक रामबहादुरकी श्रीमती रानाले बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै घटना घटेको लामो समय बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन् ।
पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घरभई बिगत ६ बर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ बर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए । रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडीको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ । एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठूलो बिपत्ती परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै उनले आपत्ती जनाएकी छन् । उनी भन्छिन्—सिसिटीभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लाँदै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरि फालेको जस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।
पीडित श्रीमती रानाले अगाडी भनिन्—हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हा,े स्थानीयले थाहा पाउनु पर्ने हो, प्रहरीले पनि थाहा पाउनु पर्ने हो, अनुसन्धानका लागि केही आधार र प्रमाणहरू हुदाहुदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ, अव त हामीले न्याय पाउदैनौ कि जस्तो लाग्न थालेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपि दानबहादुर थापाले भने घटनाको अनुसन्धान भैरहेको प्रतिक्रिया दिए । डिएसपि थापाका अनुसार प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने उनले बताए । अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले दावी समेत गरेका छन् ।