Butwal Today

बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध

८ कार्तिक २०८०, बुधबार
अ+
अ-

काठमाडौँ, ८ कात्तिक ।

स्थानीय प्रशासनले बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज (बुधबार) बिहानदेखि दिउँसो १२ बजेसम्म मदिरा र मदिराजन्य बस्तुको बिक्री र सेवनमा रोक लगाएको हो।

विजया दशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन कात्तिक ८ गते बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।

जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागिसमेत सीडीओ पोखरेलले सबैमा अपिल गरेका छन्।

प्रशासनले निषेध गरेको काम गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ। नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति एकादशीका दिन जलकुण्ड, नदी र घाटमा लगेर विसर्जन गर्ने परम्परा छ।