© २०२३
दाङ, ३० असोज ।
महिलामाथि हुने विभिन्न किसिमका हिंसाको घटनामा कमी आउन नसक्दा समाजमा सुरक्षाको चुनौती बढ्दै गएको छ । हिंसा न्यूनीकरणका लागि धेरै प्रयास भएपनि पछिल्लो समय महिला हिंसाका घटना कम हुनुको साटो बढ्दो देखिएको तथ्यांकले देखाएको छ ।
लैंगिक समानताको नारा लिएर सरकार, विभिन्न संघ संस्थाले काम समेत गर्ने गरेका छन् । सरकारी स्तरमा महिला आयोगजस्ता संवैधानिक निकाय पनि छन् । तर महिलाहरुमाथि हुने हिंसा भने महिला भएकै कारण हुने गरेको महिला अधिकारकर्मीको भनाई छ । महिला मानव अधिकार रक्षक सन्जाल दाङको आयोजना तथा ओरेक दाङको सहकार्यमा मंगलबार घोराहीमा आयोजित लैंगिक हिंसाको सवाल सम्बोधनका लागि सरोकारवालाको समन्वय बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी महिला अधिकारकर्मीहरुले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनिकरण गर्न सरकारले मौजुदा कानुनहरुलाई कार्यान्वयन गराउने र नैतिक शिक्षामा जोडि दिनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव शारदा बस्यालले प्रदेश सरकारले हिंसा न्यूनीकरणका लागि थालेको अभियानलाई सार्थक बनाउन स्थानीय पालिका र सरोकार निकायको भूमिका प्रभावकारी हुनुपर्ने बताइन् । उनले हिंसा न्यूनीकरणमा देखा परेका समस्या, चुनौती र रोकथामका लागि भईरहेका प्रयासका बारेमा जानकारी गराएकी थिइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले दाङमा हिंसाको स्वरुप विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । समस्या निवारणमा कोशिस सबैको हुनुपर्ने बताउँदै आगामी दिनमा घटना घटाउने पक्षमा लाग्ने प्रतिवद्धता जनाइन् ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले प्रदेश र जिल्ला स्तरका लैंगिक हिंसा पीडितका सवालमा सबैको जिम्मेवारपूर्ण भूमिका आवश्यक रहेको बताइन् । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले तीनै तहका सरकारले हिंसा न्यूनीकरणका लागि विनियोजन गरेको बजेट कार्यान्वयनमा सामाजिक संघ संस्था कृयाशिल बनाउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, शान्तिनगर उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी, महिला बालबालिका शाखा प्रमुख मोती विश्वकर्मा, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, सुष्मा लामिछाने, नेपाल परिवार नियोजन संघ सभापति भरतराज देवकोटा, अन्तर पार्टी महिला सन्जाल अध्यक्ष मिना गिरी, महिला पत्रकार मन्चकी सुशीला आचार्य, लमही महिला मानव अधिकार रक्षक अध्यक्ष जया रावल, दाङ महिला जेसीज अध्यक्ष नारायणी भण्डारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुवराज गहतराज, महिला मानव अधिकार रक्षक सन्जाल दाङकी सुशीला पौडेल, सचिव अनिता पोख्रेल लगायतले बोलेका थिए ।