© २०२३
बुटवल,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले सांसद सुर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको नेपाली भूमि गुन्जीको गुपचुप भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन्।
उनले मोदी नेपाल आउँदा देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे। उनले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रमसमेत नभएको बताए। एमाले सांसद सुर्य थापाले पनि संसद वैठकमा बोल्दै गुन्जी क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए। आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई र सदनलाई जानकारी गराउनु पर्नेमा किन लुकाएको भन्ने प्रश्न गरे । वर्तमान सरकार राष्ट्रियता र परराष्ट्र नीतिमा असन्तुलित रहेको भन्दै आलोचना गरे ।