© २०२३
काठमाडौँ, २५ असोज ।
बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ।
बझाङको मष्टा गाउँपालिकाको भातेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।
भूकम्पविद् डा.शिव सुवेदीले बझाङ सदरमुकाम चैनपुरबाट झण्डै साढे पाँच किलोमिटर टाढा भातेखोला केन्द्र भएर गएराति भूकम्प गएको जानकारी दिए।
सुतेको बेलामा भूकम्प आएपछि भागदौडको स्थिति सिर्जना भएको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताए। सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्।
१६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन्।