© २०२३
सुर्खेत, २४ असोज ।
छोराले जागिर खाएपछि आफुहरुलाई सुखी जीवनयापनका साथ राख्ने सपना सजाएका थिए सल्यान शारदा नगरपालिका साहुटोलका चक्रबहादुर भण्डारी दम्पत्ती । यही सपनाका साथ उनीहरुले आफ्नो एक मात्र छोरालाई इजरायल पठाएका थिए । उनीहरुलाई लाग्थ्यो छोरा इजरायलबाट फर्किएपछि परिवारका दुःखका दिन गए । छोरो घरमा फर्किएपछि घर बनाउँछ र सुखसँग जीवनयापन गर्न पाइन्छ ।
तर, महिना दिनसम्म पनि त्यो सपना टिक्न सकेन । शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा प्रवेशलगायत १० नेपालीको मृत्यु भयो । प्रवेशको मृत्युसँगै यतिबेला साहुटोल शोकमा डुबेको छ ।
प्रवेश घरका एक मात्र छोरा थिए, उनकी दिदीको विवाह सुर्खेतमा भएको छ । त्यसैले, चक्रबहादुर र चन्द्रिकाका सहारा भनेकै प्रवेश मात्र थिए । २० भदौमा घरबाट निस्किएका उनी २६ भदौमा इजरायल पुगे । उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए ।
इजरायल जानेक्रममा प्रवेशले बाआमासँग भन्ने गरेका थिए, ‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने हुन्छु ।’ प्रवेशको मृत्युको खबर उनको परिवारले थाहा पाएपछि उनकी आमा चन्द्रिका र दिदी प्रतिक्षा अचेत अवस्थामा छन् । प्रवेशको आमा र दिदी कहिले मुर्छा पर्ने त कहिले बिउँझिने गर्ने गरेको वडाअध्यक्ष तुल्सा भण्डारीले बताइन् । ‘प्रवेशको घर र मेरो घर एउटै टोलमा पर्छ, म साँझ विहान उनीहरुको घरमा गइरहेको छु’ वडा अध्यक्ष भण्डारीले भनिन्, ‘प्रवेशको मृत्युको खवरले घरपरिवार मात्र होइन गाउँ नै शोकमा डुबेको छ ।’
प्रवेश पढाइमा अब्बल रहेको र इमान्दारका रुपमा परिचित रहेको उनले बताइन् । यस परिवारसँग बेला बेलामा भेट हुने र कुराकानी भइरहने गरेको उनले सुनाइन् । प्रवेश इजरायल गएपछि केही दिनअघि मात्र उनकी आमासँगको भेटमा भएको संवाद सम्झिदै उनले भनिन्, ‘नानी हाम्रा त अब दुःखका दिन गए, छोरा इजरायल गएको छ अब धेरै कमाउने हुन्छ ।’ भेटको क्रममा आमाले भनेका यी शब्दहरुले आफुलाई अहिले दुःख लागेको वडा अध्यक्ष भण्डारीले सुनाइन्् । परिवारजनले छोराको लास भएपनि छिटो ल्याइदिन व्यवस्था गर्न आग्रह गरेको वडा अध्यक्ष भण्डारीले बताइन् । ‘उहाँहरु बेला बेलामा बेहोस हुने र होसमा आएपछि बाबु बाबु मात्र भन्नुहुन्छ’ उनले भनिन्, ‘त्यहाँ भेटमा जाने जो कोहीलाई पनि बाबुलाई छिटो ल्याइदेउ मात्र भन्नुहुन्छ ।’
प्रवेशका सानिमा शोभा लामिछानेले प्रवेशको आमा बुवा र दिदीको अवस्था चिन्ताजनक रहेको बताइन् । ‘उहाँहरु बेला बेलामा मुर्छा पर्ने र बिउँतिने गर्नुहुन्छ’ उनले भनिन्, ‘बाबुको लास भएपनि छिटो ल्याइदेउ भन्नुहुन्छ ।’
उनी सुदूरपश्चिम विश्वविद्यालयबाट चार वर्षे कोर्ष सकाएर ११ महिनाका लागि इजरायल गएका थिए । कैलालीमा कोठाभाडा लिएर निकै संघर्षका साथ पढिरहेका थिए उनले । प्रवेशले बीएस्सी एजी पढ्दासम्म पनि शुल्क तिर्न परेको थिएन । स्कलरसिपमै अध्ययन गरिरहेको उनले बताइन् ।