© २०२३
सल्यान, २४ असोज । बुवा घरको पिँढीमा बसेर छोराको शव आउँछकी भन्ने आशामा छन् । गला अवरुद्ध छ ।
आमा घरभित्र ढलिरहेकी छिन् । सोमबार रातीसम्म बेहोस उनी मंगलबार पनि सम्हालिन सकिरहेकी छैनिन् । यो हृदयविदारक दृश्य सल्यान शारदा नगरपालिका वडा नम्बर ३ स्थित साहुटोलको हो ।
गत महिनामात्रै पढ्दै, कमाउदै कार्यक्रम अन्तर्गत इजरायल गएको छोरो हमास समूहको भिषण आक्रमणमा परेर यो संशारबाटै सदाको लागि विदा भएपछि ४५ वर्षिय बुवा चक्रबहादुर भण्डारी , ४४ वर्षिया आमा चण्डीका भण्डारी, दिदी तथा आफन्त लगाएत छरछिमेक सबै शोकमा छन् । २४ वर्षिय प्रवेश भण्डारी लगाएत १० जना नेपाली विद्यार्थी हमास समूहको आक्रमणमा मारिएको खबर आफन्तीले आइतबार मात्र थाहा पाएका थिए ।
छोराको सास त घरपरिवारले पाउने छैनन्, तर शव पनि आउने नआउने कुनै टुंगो छैन । ठूलो बज्रपात व्यहोर्न विवश प्रवेशका बुवा चक्र बहादुरले गला अवरुद्ध गला खुलाउदै भने, ‘कस्तो रैछ यो दैवको लिला, भएको एउटा छोरो पनि आफु निर्दाेस हुँदा हुँदै विदेशी भुमीमै मर्नुपर्याे । यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउने थियौँ र ।’ छोरोको शव आउने नआउने बारे आफुलाई केही थाहा नभएको उनी बताउँछन् । शव कुरेर बसेका चक्र बहादुरको परिवार छोराको अन्तीम दर्शनको पर्खाइमा निकै विक्षिप्त अवस्थामा छन् । ‘अहिले सम्म कही कतै सम्पर्क हुन सकेको छैन’, उनले भने, ‘विन्ती गर्छु लास भएपनि ल्याइदिनुपर्याे ।’
मंगलबार परिवारलाई सान्तवना दिन चक्र बहादुरको घर पुगेका एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले देशले दक्ष जनशक्ति र कृषि वैज्ञानीक गुमाएको बताए । प्रवेशको निधनले सल्यान जिल्ला संगै सिंगो देशलाई अपुरणीय क्षती पुगेको बताए । केही नबिराउने, कसैसँग नरिसाउने, घमण्ड नगर्ने, निकै मिलनसार, सहयोगी र दयालु स्वभावका प्रवेश गाउँलेहरूका प्रिय थिए । पढाईमा पनि उत्तीकै तिक्ष्ण थिए । उनले २०७२ मा स्थानीय एमएम एकेडेमीबाट एसएलसी पास गरेका थिए । प्लस टु भने दांगको खोरखा बोर्डिंगमा पढेका थिए । एमएम एकेडेमिका सञ्चालक महेश देवकोटा भन्छन्, ‘प्रवेश पढाईमा निकै अब्बल थिए, अनुशासित, मिलनसार, कसैलाई भनि नविराउने, मिहेनती परिश्रमी थिए । दैवले चुँडेर लग्यो । हामी सबै स्तव्ध छौँ ।’
पढाइमा राम्रो भएकाले बुवाआमाले पनि ज्याला मजदुरी, ऋण सापट, खेती किसानी गरेर, आफू भोकै बसेर धेरै दुःख संघर्ष गरेर प्रवेशलाई पढाएका थिए । ‘घरको करेसाबारीमा म संगै काम गथ्र्याे, लटरम्म तरकारी फलेको देखेर मिहेनत गर्ने हो भने आफ्नै पाखा पखेरीमा राम्रो उत्पादन हुने रैछ । किनेर खान पर्नेरैनछ भन्थ्यो’, प्रवेशका बुवा चक्रबहादुर छोरासंगको कृषि कर्म सम्झदै भन्छन्, ‘राज्यलाई नै समृद्ध बनाउने उसको लक्ष्य थियो, सबै सपना चकनाचुर भयो, मेरो झन सबै आशा भरोसा ढल्यो ।’ यस्तो विशाल बज्रपात कसैलाई पनि नपरोस् भन्ने कामना सहित उनको घरपरिवारले सरकारसंग छिटो भन्दा छिटो लास भएपनि नेपाल ल्याइदियोस् भन्ने चाहन्छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर सल्यानका प्रवेश सहित सल्यानकै शारदा नगरपालिका २ का विधान सेजुवाल र सल्यान,
त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । हमास आक्रमणमा प्रवेशले ज्यान गुमाएका छन् भने विधान घाइते छन्, प्रमोद सकुशल रहेको बताइएको छ ।