© २०२३
काठमाडौं, २० असोज ।
नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिन सुरु गरेको छ।
मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो। नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
यस विषयमा महाशाखाले नियमित अनुगमन गरिरहेको छ र थप जानकारी दिँदै जाने जनाइएको छ। नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टाेबर २ तारिख नै थियो। तर यसपालि मनसुन बहिर्गमनमा केही ढिलाइ भएको मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ। प्रवेश गर्दा पनि मनसुन पूर्वबाटै गर्छ। यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो।
मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ। यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
डिसेम्बरदेखि विन्टर (हिउँद) लाग्ने मौसमविद् बताउँछन्।