© २०२३
धनगढी, १७ असोज ।
बझाङमा भूकम्पमा परी एक जनाले ज्यान गुमाएका छन् । जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । धामीको एउटा खुट्टा,कपाल र शरिरका केही टुक्रा भेटिएको प्रहरी निरीक्षक दिपेश चौधरीले पुष्टी गरे ।
उनका अनुसार अन्य ११ जना घाइते छन् । ती मध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको उपचार भइरहेको छ । घाइतेहरुमा खप्तडछान्ना गाउँपालिकाकी सुनिता रोकाया, जयपृथ्वी नगरपालिकाका सात वर्षीया सलिना जोशी, प्रमिला जोशी, जयपृथ्वी नगरपालिकाका तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।
मंगलबार दिउँसो दुई पटक गएको भूकम्पले बझाङका केही घर र विद्यालय भत्काएको हो । जिल्लाको बाल विकास मावि गोलाईको भवन भत्काएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन नपाएको सुदूरपश्चिम प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।सुख्खा पहिरो गएपछि जयपृथ्वी राजमार्ग समेत अवरुद्ध छ ।