© २०२३
प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । हाम्रो देशमा पनि सेप्टेम्वर २२ देखि २८ सम्म रेविज सप्ताह बिभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । प्रत्येक बर्ष विश्व पशु स्वास्थ्य संगठनले विभिन्न नारा का साथ दिवस मनाउन अभिपे्ररित गर्दछ ।
यो बर्ष सन २०२३ को नारा रेबिज नियन्त्रण, एक स्वास्थ्य– एक गन्तव्य रहेको छ । यसै सन्र्दभमा निशुल्क रेबिज खोप जनचेतना कार्यक्रम, स्कुल शिक्षा, प्रभातफेरी जस्ता सचेतनाका कार्यक्रम संचालन गर्ने गरिन्छ । रेबिज रोग के हो र यसबाट बच्न के गर्नुपर्छ भन्ने बारेमा केही जानकारी दिनु सान्दर्भिक हुन आउँछ । पशुबाट मानिसमा सर्ने धेरै रोगहरूमध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो । रेब्डो भाइरस ( विषाणु) बाट लाग्ने यो प्राणघातक रोगले केन्द्रिय स्नायु प्रणालीमा असर गरि असामान्य लक्षणहरू देखापर्दछ । त्यसैले यस रोगबाट बच्न समयमा ध्यान नदिएमा ज्यानको खतराको साथसाथै ठूलो धनजनको क्षसत हुन सक्दछ । यो रोग लागेर लक्षण देखिएपछि यसको कुनै उपचार छैन । विश्वमा वर्षेनि करिब ३० हजारदेखि ५५ हजार ब्यक्तिको यो रोगका कारण मृत्यु हुने गरेको छ । यसमध्ये १५ वर्ष मुनिका बच्चाहरूको संख्या ३० देखि ५० प्रतिशत रहेको छ भने लाखौ व्यक्तिले रेबिजको पोष्टबाइट खोप लिएको तथ्यांक छ ।
रेविज कसरी सर्दछ ?
यो जुनोटिक रोग हो । रोग सार्ने जनावरमा प्रमुख रूपमा बहुला कुकुर नै विशेष गरि प्रमुख रहन्छ । यसबाहेक जंगली मांसाहारी जनावर स्याल ब्वांसो, फ्याउरो, न्याउरीमुसा आदिको टोकाईबाट पनि यो रोग सर्दछ । एउटा बहुला कुकुरले घरपालुवा सयौंको संख्यामा पाल्तु जनावर र मानिसलाई टोकेर आक्रान्त बनाउन सक्छ । त्यसैले यस सन्दर्भमा जनसमुदाय, कुकुर पाल्ने कुकुरपालकहरू बढी चनाखो हुनु जरुरी छ । हाम्रो देशमा सामान्यतया रेविज रोग दुईवटा चक्रबाट सरेको पाईन्छ ।
१) छाडा सामुदायिक कुकुरहरू
छाडारूपमा रहेका कुकुर जो बाँच्नको लागि सिनो तथा फोहोर थुपारेको स्थानमा खानाको लागि भौतारीरहेका हुन्छन् । त्यस्तै मासुको अव्यवस्थित पसलहरू भएको स्थानमा मासुको टुक्राहरू, हड्डीहरूको उचित व्यवस्थापन नभएको स्थान तथा सामुदायिक कुकुरलाई मासु काट्ने स्थानमा मासु, हड्डी फ्याँकीदिने गर्दा मासु पसलको वरिपरी प्रायःगरी सामुदायिक कुकुर देख्न सकिन्छ । त्यस्तो समूहमा रेबिज संक्रमण हुन सक्ने र रेविज रोग लाग्न सक्ने तथा यिनीहरूबाट अन्य पशु वा मानिसलाई टोकेमा रेविज रोग लाग्न सक्दछ ।
२) जंगली मांसाहारी जनावर
बिहानी सत्रको हिँडाइमा, वन जंगलमा घाँस दाउरा लिन जाँदा, मठ मन्दिर, पार्कमा घुम्न जाँदा तथा सडकमा हिडिरहेको बेला जंगली जनावर जस्तै स्याल, ब्वाँसो आदिले टोकेमा वा चिथोरेमा पनि यो रोग सर्न सक्दछ ।
लक्षणहरू :
रोग सर्ने अवधि १४ दिनदेखि दुई महिनाभित्र रोगको लक्षण देखापर्दछ । तर कहिलेकाहीँ दुई महिनापछि पनि रोगको लक्षण देखापरेको पाईएको छ । मानिसलाई यो रोग लागेमा पानीदेखि डराउने भएकोले यसलाई हाईड्रोफोबिया पनि भनिन्छ । तर पशुमा यस्तो अवस्था देखिंदैन । पशुहरूमा विभिन्न अवस्थाबाट यो रोग लाग्न सक्दछ । कुकुर तथा जंगली जनावरमा कस्ता लक्षणहरू कसरी देखिन्छन् भन्ने वारेमा उत्सुकता हुनु स्वभाविकै हो । त्यसैले यस सम्बन्धमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ । यसका ती अवस्थाहरू हुन्छन् ।
१) प्रथम अवस्थाः लाटो रूप
वसाई हेराई र दैनिक चालचलनमा परिवर्तन हुन्छ ।
विरामी जस्तो देखिन्छ ।
मालिकले भनेको मान्दैन् र एक्लै वस्छ ।
धेरै चन्चल देखिने वा एउटा कुनामा गएर वस्छ ।
२) दोस्रो अवस्थाः उत्तेजित रूप
कुकुर दौडिन थाल्छ ।
बाटोमा पशुलाई वा मानिसलाई टोक्दै भाग्छ र ¥याल काट्छ ।
भुकी रहन्छ र लामो दुरीसम्म दौडिरहन्छ । यो अवस्था अत्यन्त खतरनाक हुन्छ ।
३) तेश्रो अवस्थाः पक्षघात रूप
मांसपेसीमा पक्षघात हुने ।
प्रशस्त रयाल काढ्ने
अनौठो तरिकाले भुक्ने
टाउको झुकाउने, जिव्रो बाहिर निकाल्ने ।
हिड्न नसक्ने ।
रोगलागेको ४–१० दिनमा मृत्यु हुने गर्दछ ।
गाईभैंसीहरू यो रोगबाट चांडै नै प्रभावित हुन्छन् । रोग सर्ने अवधि दुईदेखि १० हप्तासम्मको हुन्छ । तर, बहुला कुकुर वा जनावरले मस्तिष्कको जति नजिक टोकेको छ, त्यति चांडै यो रोग देखापर्दछ ।
लक्षणहरूः
तर्सिने, कुनैपनि वस्तुलाई हान्न खोज्ने ।
अनौठो तरिकाले कराउने ।
¥याल काडिरहने, दांत किटकिटाउने ।
मांसपेशीमा कम्पन हुने ।
दानापानी नखाने
भुई ख्रोस्रने ।
गुद्दारमा पक्षघात देखिदे आदि ।
तुरुतुरु पिसाव गरि रहने, नउघ्राउने, आंखा रातो देखिने हुन्छ ।
रोगबाट बच्ने उपाय :
१. कुनैपनि शंकास्पद वा वहुला कुकुरले टोकेमा तुरुन्तै मनतातो वा सावुन पानीले घाऊ सफा गर्ने । एन्टिसेप्टिक झोल लगाउने ।
२. पाल्तु कुकुरलाई ३ महिना पुगेपछि अनिवार्यरूपमा रजिष्टर गरी पशु चिकित्सक वा आधिकारिक व्यक्तिसंग वा नजिकको स्थानीय पशु सेवा शाखामा लगि रेविजविरुद्धको सुई दिनुपर्छ । प्रत्येक बर्ष रेबिज बिरुद्ध खोप दिनुपर्दछ ।
३. घरपालुवा कुकुर वा पशुलाई जंगली जनावरबाट टाढा राख्नुपर्छ ।
४. कुनै पनि कुकुरले मानिस वा जनावरलाई टोक्दै हिंडेमा त्यसलाई नमारीकन १० दिनसम्म नियन्त्रणमा राख्नुपर्छ ।
५. बहुला कुकुर स्यालले पशुलाई टोकेमा खोप पशु चिकित्सकको सल्लाह अनुसार दिनुपर्छ ।
६. नआत्तिकन मानिसलाई जति सक्दो चाँडो अस्पताल वा चिकित्सक कहाँ पुराउनुपर्छ । र, सल्लाह अनुसार खोप लिनुपर्छ ।
त्यसैले कुकुर पाल्ने कृषकले आफुले पालेको कुकुरलाई घरको एक सदस्यको रूपमा पालनपोषण गरौं ।
घरपालुवा कुकुरलाई खुलारूपमा सडकमा नछोडौं ।
रेविजविरुद्धको खोप समयमा नै स्थानीय पशु सेवा शाखामा वा पशु चिकित्सकको सल्लाह अनुसार खोप दिने वानी बसालौं ।
एकजनाको सानो गल्तीले समुदायका धेरैले दुःख पाउने, पशु वस्तु तथा मानिसको मृत्यु हुन सक्ने र ठूलो आर्थिक नोक्सानी हुने हुँदा समयमा नै सचेत बनौं ।
शहरको सडकमा भुस्याहा कुकुरको विगविगी कम गराउन सदैव होसियार बनौं ।
आफ्ना कुकूरलाई घरमा सिक्रीले बाँधेर भुस्याहा कुकुरबाट जोगाऔं ।
रेविज रोग नियन्त्रणः
रेविज रोग नियन्त्रण गर्न स्वास्थ्य शिक्षामा ध्यान दिने, सम्पूर्ण कुकुरलाई भ्याक्सिनेसन गर्न अभियानको रूपमा खोप संचालन गर्नुपर्दछ । कुकुरको संख्या नियन्त्रण गर्न प्रजनन्मा नियन्त्रण गर्नुपर्दछ । हाम्रो स्थानिय सरकार यस सन्दर्भमा दीर्घकालीन, मध्यकालीन नीति तथा योजनाहरू बनाउन खासै ध्यान नदिनु, बढ्दो जनसंख्या, रुढीवादी परम्परा तथा जनचेतनाको कमीले गर्दा यो रोग नियन्त्रणमा थप समस्या देखिएको छ । सामुदायिक भाले तथा पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्ने कार्य मात्रै पनि गर्न सके र फोहोर व्यवस्थापन गर्न सके सामुदायिक कुकुरको नियन्त्रणमा सहज हुनेछ । स्थानीय सरकारबाट पनि आम नागरिकलाई यस सम्बन्धमा जानाकारीमूलक सूचना प्रवाह गरि नगर र गाउंmलाई भयमुक्त बनाउन रजिष्टर पशु चिकित्सक, बिज्ञ वा तालुक निकायसंग समन्वय गरि कार्य गरेमा रेविजलाई इतिहासमा मात्र सीमित गर्न कुनै कठिनाई हुनेछैन् । यसका लागि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।
(लेखकः कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका पुर्व महाशाखा प्रमुख हुन)