© २०२३
प्रिय शिक्षा ऐन !
नमस्कार अनि मीठो सम्झना ।
म यहाँ सन्चै छु ; त्यहाँ तिमी पनि सन्चै छौ होला भन्ने विश्वास लिएको छु । निकै लामो समयदेखि तिमी आउँदै छौ भन्ने खबरले हामी सम्पूर्ण परिवार निकै उत्साहित र खुशी थियौं । सबैलाई तिमी आउँदै छौ भन्दै खुशी पनि साट्दै थियौं । तिमीले विभिन्न आरोह–अवरोह पार गर्दै संसद बसपार्कमा टिकट पनि काट्यौ अरे ! तर तिमीले त्यहाँबाट आउँदा जे–जस्ता सामग्रीहरु लिएर आउनुपथ्र्यो, त्यस्ता हामीले अपेक्षा गरेका कुनै पनि सामग्री नलिइकन आउँदै छौ रे ! हामीलाई निकै सस्ता र प्रयोग गर्नै नसकिने म्याद गुज्रिएका कामै नलाग्ने एकदुइवटा सामान बाहेक केही नल्याई आउँदै छौ रे ! तिम्रा साना साना बालबच्चाहरु तिमीले केही महत्वपूर्ण सामग्री लिएर आउँछौ भन्ने आशामा निकै हौसिएका थिए, तिम्रो अगाध मायासहित चाचानाना पाउने आशामा जे – काम अ¥हायो त्यही खुरुखुरु पनि गरेका थिए । हिजोमात्रै तिम्रो साथीले ल्याएको खबर अनुसार तिमी त कामलाग्ने कुनै पनि वस्तु नल्याई रित्तै फर्कदै छौ रे ! यो खबर थाहा पाएदेखि यहाँको सिङ्गो परिवारले चिन्ता मात्रै गरेका छैनन्; तिमीप्रतिको विश्वास पनि क्रमशः घटाउँदै गएका छन् । यति लामो समय सहरमा बसेर बाबुले कमाएको पैसा नचाहिंदो काममा अनावश्यक खर्च गरी रित्तै फर्किएको भन्ने खबरले एक आपसमा कानेखुसी गर्दै कठोर आन्दोल गर्ने तयारी समेत गर्दैछन् । घरको काम पनि केही नगर्ने भनेर आक्रोश व्यक्त गरिरहेका छन् । अब त छोराछोरीहरुले हामीले कत्ति सम्झाउँदा पनि पटक्कै नसुन्ने, बरु सम्झाउन खोज्दा उल्टै हामीमाथि नै आक्रामक ढंगले प्रस्तुत हुन खोज्दैछन् ।
प्रिय शिक्षा ऐन,
समय निकै परिवर्तन भएको छ ,अहिलेका सन्तानहरुले देश विदेशका खबरहरु द्रुतगतिमा प्राप्त गर्दछन् । आवश्यकताका क्षेत्रहरु पनि क्रमशः थपिदै गएका छन्, त्यही भएर होला सन्तानहरुले अब तिम्रा हरेक कुरा विगतमा जस्तो गरी, पुराणका कथा सुनेझै सुनेर पत्याउने छैनन् । तिमीले आफ्ना कर्तुत लुकाउन प्रयत्न त पक्कै गर्नेछौ तर ती प्रयत्नहरु सबै विफल बन्नेछन् । तिम्रा करिब दुई दर्जन जति सन्तानहरुको गुनासो र बढ्दै गइरहेको अविश्वास र आक्रोशलाई तिमीले कसैगरे पनि थेग्न सक्ने छैनौ ।
अन्त्यमा, तिम्रो सुखद आगमनको स्वागतमा रहेका सन्तानहरुको मनोभावनामा ठेस लाग्ने गरी तिमी नआउनु है ! यदि तिमीले पुनर्विचार नगरी रित्तै आयौ भने तिम्रा सन्तानहरुले अपमान भएको ठानी तिमीलाई नै अप्ठ्यारोमा पार्ने निश्चित छ । अझै पनि आशा छ, तिमीले आफ्ना सन्तानको लागि मन जित्ने सामग्री लिएर आउनेछौ ।
उही तिम्रो शुभचिन्तक
( लेखक : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हुन् । )