© २०२३
काठमाडौँ, २३ भदौ ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान भर्न चीनसमक्ष आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका एमाले प्रतिनिधिमण्डलका नेता पोखरेलले बेइजिङमा आयोजित कार्यक्रममा सिधा उडानका लागि आग्रह गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले दुवै विमानस्थल चीनको सहयोगमा निर्माण भएको विषयलाई जोड्दै सिधा उडानका लागि आग्रह गरेका हुन् । चीनको ऋण सहयोगमा निर्माण भएपछि दुवै विमानस्थल सञ्चालन हुनसकेको छैन ।
कार्यक्रममा उनले विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्नु हुँदै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह गरे । महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रुपमा अघि बढेको देख्दा खुशी लागेको बताए ।
‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुसी लागेको छ’ उनले भने । पोखरेलले नेकपा (एमाले)ले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँदै चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । ‘दुवै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भविष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ,’ पोखरेलले भने ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङ सिउपिनले नेकपा (एमाले)सँग चिनियाँ कम्युनिस्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए ।
महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय भ्रमण दल बिहीबार छोङछिङबाट बेइजिङ पुगेको छ ।