© २०२३
लुम्बिनी,२१ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको स्वीकारेका छन् ।
आज लुम्बिनीमा रुपन्देही,कपिलवस्तु र नवलपरासीका पत्रकारसंगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताएका हुन् । उनले आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान पुराउन आफ्नो उद्देश्य रहेको जिकिर गर्दै उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दिता कायम राख्न निर्देशन दिइएको बताए । कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हावी हुंदा लुम्बिनी गुरुयोजना समयमै पुरा हुन नसकेको र यहांको विकास पछाडि परेको लामाले औंल्याए ।
कोषभित्रका बिहारहरुले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरु मर्कामा परेको गुनासो आएको भन्दै विहारहरु अन्य देशमा पनि हुने तर तिनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताए ।
उनले बुद्धत्व झल्किने गरी मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा सात करोड रुपैयां प्रदान गर्ने घोषणा गरिसकेको हुंदा उक्त रकम छिटै उपलब्ध गराउने बताए ।
लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन देवदह,तिलौराकोट,रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उनले बताए ।
लुम्बिनी विकास कोष क्षेत्रमा पशु बध र मासु विक्रि वितरण अव्यवस्थित हुंदा लुम्बिनीको गरिमामा आंच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा लामाले जोड दिए ।