© २०२३
सुनवल, ११ भदौ ।
नेपाल क्रिकेट संघ क्यान लुम्बनीको अध्यक्षमा रुपन्देहिका सन्जय गुरुङ्ग सर्वसम्मत भएका छन् । प्रदेश सचिव रहेका गुरुङ्ग सोमबार पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । १३ सदस्यीय प्रदेश कार्यसमितिको उपाध्यक्षमा बर्दियाका विनय राजभण्डारी, सचिवमा दाङ्गका कैलाश रोका र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा दाङ्गका बालकृष्ण खत्री, बर्दियाका सुभाश तिमिल्सेना, रुपन्देहीका प्रथम पराजुली र धिरज अधिकारी क्षेत्री, बाँकेका दुर्गाबहादुर थापा मगर र मेराज अन्सारी, कपिलवस्तुबाट माया ज्ञवाली र पदमराज श्रेष्ठ, पश्चिम नवलपरासीबाट अनिश कुँवर सर्वसम्मत भएका छन् ।
क्यान प्रदेश कार्यसमिति १३ सदस्यीय हुने व्यवस्था छ । जसमा एक महिला सदस्य अनिवार्य गरिएको छ । प्रदेश वार्षिक साधारण सभा तथा अधिवेशनको नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले उद्घाटन गरेका थिए । सो क्रममा चन्दले पूर्वाधारको अभावमा नेपाली क्रिकेट गरिब हुनुपरेको उल्लेख गरे । यसअघि लुम्बिनी क्यानमा सुर्खेत पनि आवद्ध रहेकोमा यस पटक देखि सुर्खेत बाहेक ७ जिल्लाले क्यान लुम्बिनीको नयाँ नेतृत्व चयन गरेका छन् । नेपालभर ४५ जिल्ला क्यानमा आवद्ध रहेका छन् ।