© २०२३
सुनवल, ११ भदौ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले पूर्वाधारको अभावमा नेपाली क्रिकेटले अपेक्षित उपलब्धि हासिल गर्न नसकिरहेको बताएका छन् । सोमबार पश्चिम नवलपरासीको भुमहीमा नेपाल क्रिकेट संघ क्यान लुम्बिनी प्रदेशको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले पूर्वाधारकै अभावमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा खेलाडीलाई समेत प्रर्याप्त रकम भुक्तानी गर्न नसकिएको बताए ।
अहिले क्रिकेटको स्वर्णिम युग भएपनि नेपाल क्रिकेट संघ आर्थिक रुपमा निकै कमजोर अवस्थामा रहेको उनको भनाई थियो । सन् २०२४ मा हुने विश्वकप क्रिकेट नेपाली टोलीले खेल्ने जिकिर गर्दै क्यान अध्यक्ष चन्दले त्यसका लागी सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले नेपाली क्रिकेटको लागि धेरै सहयोग गर्दै आएको बताउँदै अध्यक्ष चन्दले त्यसैका लागि नेपालमा पूर्वाधार तयारको लागी समय पनि उपलब्ध गराएको बताए ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा रंगशाला निर्माणको विषयमा सहमति भएको भएपनि कार्यान्वयन हुनेमा चन्दले शंका व्यक्त गरे । भारतले धनगढी र चितवनमा अलपत्र अवस्थामा रहेका रंगशाला निर्माण गर्न प्रतिवद्धता जनाएको बताउँदै त्यसलाई छिटो कार्यान्वयन गर्नुपर्नेमा चन्दको जोड थियो । ‘प्रधानमन्त्रीको भ्रमणमा भारतले निर्माणका लागि प्रतिवद्धता जनाएको कुरा आएको छ तर कहिले बन्ने भन्ने टुङ्गो छैन, यदि बन्ने हो भने तत्कालै सुरु गर्नुपर्यो होईन् भने नेपाल आफैले काम सुरु गर्नुपर्यो’, चन्दले भने ।
चन्दले लुम्बिनी प्रदेश क्रिकेटको उर्वर भूमि भएको नवलपरासीका खेलाडी नै अहिले राष्ट्रिय क्रिकेट टोलीको क्याप्टेन रहेकाले यस क्षेत्रको क्रिकेटको विकासमा थप उर्जा आवश्यक भएकोमा जोड दिए । भैरहवामा रहेको क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न आफुहरुले आईसिसीलाई मनाउने बताउदै चन्दले त्यसका लागि प्रदेश कमिटी सहित यस क्षेत्रका जनप्रतिनिधि पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले सरकारको बजेट बन्ने प्रक्रियामै देखिएको त्रुटीले सबै क्षेत्र समेटेर बजेट विनियोजन हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रममा छलफल सकिदा नसकिदै बजेट तयार भएको प्रसंग उल्लेख गर्दै बस्नेतले नीति तथा कार्यक्रम अनुरुपको बजेट आउन नसकेको गुनासो गरे । अझै पनि भ्युटावर, सडक निर्माणले मात्रै विकास हुन् भन्ने धारणा व्याप्त रहेको बताउँदै प्रदेश सांसद बस्नेतले समाजिक विकासका पाटोमा पनि महत्व दिनुपर्नेमा जोड दिए । सो क्रममा बस्नेतले सुनवलमा १० लाख रुपैयाँ प्रदेश सरकार मार्फत खेलकुदको प्रवद्र्धनका लागि विनियोजन गरेको पनि जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, क्यानका केन्द्रीय कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल र संजय राई लगायतले बोलेको क्यानका प्रदेश सचिव संजय गुरुङ्गले जानकारी दिए । सोमबार नै अधिवेशनले लम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ ।