© २०२३
देशका अरू सहरहरूजस्तै बुटवल पनि सँधै व्यस्त छ । बिहानदेखि साँझसम्म दगुरादगुर चलिरहन्छ यहाँ । राजनीतिकर्मीहरू, अधिकारकर्मीहरू, विद्यार्थी, अध्यापक, प्राध्यापक, डाक्टर, इन्जिनियर, नर्स, वकिल, व्यापारी, उद्योगी, गृहणी, किसान, मजदुर, चालक सबै व्यस्त छन् । सबैभन्दा व्यस्त त अझ बेरोजगारहरू छन् । रोजगारी खोज्दै हिँड्दा जुत्ता चप्पल फटाल्नेहरू त कति छन् कति !
पिँधका मानिसहरू व्यस्त छन् । व्यस्त पनि यति व्यस्त छन् कि खासमा ती अस्तव्यस्त छन् । राष्ट्रिय उत्पादनमा शून्यता, बजारको मन्दी र चरम महङ्गी, नीजिकरणले नङ्ग्रा गाडेर पहुँचभन्दा बाहिर हुन थालेको शिक्षा र स्वास्थ्य, सामान्य आधारभूत आवश्यकताका लागि पनि परनिर्भरता, असारे बिकास, तलदेखि माथिसम्म भ्रष्टाचारको अत्यासलाग्दो श्रृंखला आदिले आहात भएको मान्छे आफ्नो अस्तित्व बचाउन र परिवारको पेट पाल्नमा नै आफ्नो सम्पूर्ण शक्ति लगाइरहेछ । दगुरादगुर गरिरहेछ । अस्तव्यस्त भएर व्यस्त भइरहेछ ।
सहर यिनै मानिसहरूले आवाद छ । यी मानिसहरू सहर हेर्दछन् । नगरपालिका हेर्दछन् । प्रदेश सरकारको अनवरत सवारी र उद्घाटन यज्ञ हेर्दछन् । माथि काठमाण्डौतिर हेर्दछन् । घरि घरि सुनैसुनको चर्चा सुन्दछन् । सुनौलो नेपाल र नेपालीको सुनौलो भविष्यका लागि अहोरात्र तिकडम गर्दै मुख चलाइरहेका नेताहरूका महान् वाणी सुन्दछन् ।
अनि वाक्क भएर ती आफ्नो गच्छे अनुसार मोबाइलमा घोप्टिन्छन् । मोबाइलमा घोप्टिदा घोप्टिदै ती घोप्टे भइसकेका छन् । ज्ञान विज्ञान, कला साहित्य र मानवीय संवेदनासँग तिनलाई सरोकार छैन । जीवन जिउने नाममा ती आफ्नो आयुको दिनगन्ती मात्रै गरिरहेछन् ।
यस्तो सहरमा पनि कहिलेकाँही अचम्मै हुने गर्दछ । बिहानको उषाजस्ता केही भरलाग्दा युवाहरू राजनीति, राजधानी वा दलका कुरा छोडेर बेला बेलामा साहित्यिक विमर्श गर्दछन् । चिन्ताग्रस्त वर्तमानका बारेमा चिन्तन गर्दछन् । गीत सङ्गीतका कुरा गर्दछन् । किताबका कुरा गर्दछन् । कविताका कुरा गर्दछन् । मानवताको पक्षपोषणमा सडकमा प्रदर्शन गर्दछन् । अतिचार भएमा प्रतिकार गर्दछन् ।
पाठक मञ्च नाम गरेको एउटा अनौपचारिक समूह छ । बिलकुलै अनौपचारिक । न कतै दर्ता छ न कोही अध्यक्ष । न कोही कुनै पदाधिकारी, न त कोही सदस्य । सिर्जना, कल्पना र ज्ञानमा रमाउने जो कोही पनि यसको पारिवारिक सदस्य हुन सक्छ । यसले औपचारिक संस्थाहरूसँग हातेमालो गरेर पनि अनेक कार्यक्रमहरू गर्दै आएको देखिन्छ । विद्यार्थी, युवा र किशोरहरूका लागि फलदायी हुने कार्यक्रम यसको लक्ष्यजस्तो लाग्दछ । खास गरी किताब विमर्श लगायतका साहित्यिक कार्यक्रमहरूमा संलग्न यही संस्थाले बुटवलमा फेरि एक पटक एउटा पृथक ढंगको कार्यक्रम गर्दै रहेछ ।
स्याङ्तान कविता यात्रा–२०२३ ।
महोत्तरीका कवि राजु स्याङ्तान चिनाउनु पर्ने नाम होइन । समकालीन नेपाली कवितामा एउटा सशक्त कविका रूपमा उदाएका राजुलाई पाठक मञ्च बुटवलले भदौ १० गते आइतबार बुटवलमा उभ्याउँदै रहेछ । आदिवासी चलचित्र महासंघ, नेपाल तामाङ घेदुङ, रूपन्देही र बुटवल उपमहानगरपालिकाको समेतको सहयोगमा यो कार्यक्रम हुँदै रहेछ ।
राजु स्याङ्तानको नवीनतम् कविता कृति ‘ओ पेङ्दोर्जे’ लाई केन्द्रमा राखेर गरिने उक्त कार्यक्रमको पूर्व सन्ध्यामा मैले उक्त किताब पढेँ । राजुका कविताले मलाई आगोले जस्तै न्यानो दिए । हिउँले जस्तै शीतलता दिए । फूलले जस्तै सुवास दिए । उनका कविताले मेरो मनलाई स्पर्श गरे । मेरो मस्तिष्कलाई हल्लाइदिए ।
आमा तिमी मात
तिमी मातेको मन पर्छ
यो दुनिया तिम्रै रगत चुसी
मातिरहेछ आदिम कालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ तिमीमाथि
मान्छेले कवितालाई किन प्रेम गर्छ ? किन कविता सुन्छ ? किन कविता पढ्छ ?
राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ पढेपछि मलाई पुनः बोध भयो– ज्ञान शक्तिशाली हुन्छ ।
तर कल्पनाशीलता त्यो भन्दा पनि शक्तिशाली हुँदो रहेछ । ‘ओ पेङ्दोर्जे’ले इतिहासमा जालझेलपूर्ण तरिकाले लुकाइएका तथ्यहरूलाई बटुलेर सत्यको रूपमा धेरथोर ज्ञानको उत्खनन् गरेको छ भने अर्कोतिर गहिरो कल्पनाशीलताको व्यापक परिवेश निर्माण गरेको छ । त्यसैले मलाई राजुका कविताहरू शक्तिशाली लागे ।
‘ओ पेङ्दोर्जे’ ले प्रश्न गरेको छ । यक्ष प्रश्न ! कविताको पहिलो काम नै साधारण मानिसलाई प्रश्न गर्न उत्प्रेरित गर्नु हो । सत्यको खोजी नै कविताको धर्म हो । सत्यको खोजी गर्दा अनेक प्रश्न गर्नु पर्दछ । ‘राम बहादुर मार्ग’ मा छोराले प्रश्न गरेपछि मात्रै सत्यको उद्घाटन हुन्छ । इतिहासमा त ‘महेन्द्र राजमार्ग’ राजा महेन्द्रले बनाएको भनेर लेखिएको छ नि ! तर त्यो अर्ध सत्य हो, पूरा सत्य थाहा पाउन प्रश्न गर्नुपर्छ । प्रश्न गर्नु कविताको पहिलो विशेषता हो ।
बेवारिस लडिरहेको छ आज
आँगनमा आपाको लास
म गइरहेछु आपालाई भेट्न
यो अमलेखगन्ज
यो निजगढ
यो चन्द्रनिगाहपुर
यो महेन्द्र राजमार्ग
पूर्वपश्चिम राजमार्ग
तर
तर किन भन्न पाउँदिनँ
राम बहादुर मार्ग ?
‘ओ पेङ्दोर्जे’ मा वर्गीय दृष्टिकोण र पक्षधरता स्पष्ट छ । संसारमा वर्गहरू छन् । ‘ओ पेङ्दोर्जे’, पिँधमा रहेका वर्गको आक्रोशको अभिव्यक्ति हो । जातीय स्वाभिमान र आत्मसम्मानको खोजीको प्रयत्न हो । हरेक राज्य सत्ताहरू कहीं न कहीं, कतै न कतै जातीय र नश्लीय चिन्तनले ग्रस्त छन् । त्यसैले अन्याय छ, अत्याचार छ, शोषण र दमन छ । ‘ओ पेङ्दोर्जे’ मा कविले संसारैभरिका सीमान्तकृत मानिसहरूलाई आफन्त देखेका छन् । यो एउटा विश्व दृष्टिकोण हो । त्यसैले स्पष्ट विश्व दृष्टिकोण र वर्गीय पक्षधरता ‘ओ पेङ्दोर्जे’ को अर्को विशेषता हो ।
मेरा आफन्तहरू त संसारैभरि रहेछन्
कोही कोइलाखानीमा रोइरहेका
कोही तेलखानीमा सडिरहेका
कोही डुङ्गा पल्टिएर मरिरहेका
कवितामा दृश्यको सजीव वर्णन छ । ‘जानेहरू’ शीर्षकको कविता एक गज्जब कविता हो । कोरोना कालमा सहर छोडी गाउँ जानेहरूको सजीव चित्रण त्यसमा छ ।
निष्ठुरी घरबेटीलाई
जिन्दगीको आधा हिस्सा सुम्पेर
अब कहिल्यै नफर्किने भन्दै
थोत्रो ब्ल्याङ्केट र केही थाल
बसको छतमा राखेर आँसु पुछ्दै पुछ्दै गए
विपतमा सहर झनै बिरानो बनेपछि
चिउरा र दालमोठ
चपाउँदै चपाउँदै गए
उनीहरू गए
खाली हात गए
रित्तो रित्तो गए
कस्तो गजबको जीवन्त चित्रण ! कविता पढिरहँदा लकडाउनका दिनहरूमा कैयौं दिन हिँडेर सहरबाट गाउँ गइरहेका दुखियाहरूको तस्वीर हाम्रो आँखामा झलझली आउँछ । राजुको कवितामा त्यो जीवन्तता गजबले प्रतिविम्वित भएको छ ।
‘ओ पेङ्दोर्जे’ का अधिकांश कवितामा कथा छन् । कवितामा कथा अनिवार्य तत्व होइन तर कथा बोकेको कविताको एउटा भिन्नै लय हुन्छ । किनभने त्यो कविता कथाको प्रवाह बोकी हिँडेको हुन्छ । कविता परिधिबाट केन्द्रतिरको यात्रा हो भने कथा केन्द्रबाट परिधितिरको । तर कथा बोकेका कविताहरू परिधि र केन्द्रको मिलनको त्यो क्षितिज हो जहाँ जीवनको चित्र बडो मार्मिक देखिन्छ । त्यो मार्मिक चित्रले मान्छेलाई छुन्छ र कविताले आफ्नो गुणवत्ता कायम गर्दछ । राजुको कवितामा त्यो गुणवत्ता कायम छ ।
खासमा कथा र कविता संरचनागत हिसाबले मात्रै फरक कुरा हुन् । मान्छेको भावना त साझा कुरा हो । किनभने सबैको आँसु र हाँसो एउटै हो । त्यसको फिजक्सि र केमेष्ट्री पनि एउटै हो । कवितामा भनिएको कथाको आफ्नै विशिष्टता हुन्छ । प्रभावकारीता हुन्छ । हजारौं श्लोकका महाकाव्यदेखि खण्डकाव्यहरू पनि त आखिर कथा नै हुन् ! मुनामदन पनि त कथा नै हो । तर त्यो कथालाई कवितामा उनियो । त्यो प्रभावकारी भयो । त्यसैले कवितामा कथानकको ठूलो महत्व छ ।
‘ओ पेङ्दोर्जे’ मा पेङ्दोर्जे, च्याङ्बा, साङ्मो, पिपा र सुसारेहरूको कथा छ । गरिबीले छिया छिया पारेका आर्तहरूको कथा छ । नश्लीय राज्य सत्ताले आदिवासी जनजातिहरू माथि थोपरेका विराट अत्याचारको कथा छ ।
एकादेशमा एउटा दुखिया गाउँ थियो । गाउँमा एउटा दुखिया परिवार थियो । परिवारमा आपा थियो । आमा थिई । दाइ थियो । भाइ थियो ।
दाइ एकदिन मुक्तिको खोजीमा हिँड्यो । आफ्नी आमाको अपहरित खुसी खोज्न हिँड्यो । आफ्नो आपाको खोसिएको अधिकार खोज्न हिँड्यो । दुश्मनसँग लड्न हिँड्यो । भाइले पछ्यायो । दाइले भाइलाई आफ्नो बाँसुरी दियो । चप्पल दियो । काठको गड्डी दियो । आफ्नो कट्टु, स्कुल जाने सर्ट पनि भाइलाई नै लगाउनु भनेर फकायो ।
जंगल जंगल हिँड्नु पर्छ, उकालो ओरालो कुद्नु पर्छ, नदीहरू तर्नु पर्छ । तँ सक्दैनस् भनेर सम्झायो ।
आमा र आपाले सोध्यो भने के बताउने भनेर सम्झायो । बाँसुरी बजाउँदै बजाउँदै घर फर्की भनेर सम्झायो ।
भाइलाई छोडेर ऊ साथीहरूसँग बाटो लाग्यो ।
तर बाँसुरीको धुनले उसैलाई पछ्याइरह्यो । दाइले पछाडि फर्केर हे¥यो । भाइ त उसकै पछि पछि पो आइरहेछ ।
भाइले भन्यो–ज्यो ज्यो मलाई घरमा बस्नै मन लाग्दैन ।
दाइले सोध्यो–किन ?
भाइको जवाफले दाइको आत्मामा हाहाकार मच्चियो ।
भाइले भन्यो–ज्यो ज्यो, बजारको त्यो साहु छ नि ! त्यसले आमालाई सँधै तेरो कान्छो छोरो दस हजारमा बेच भन्छ ।
कस्तो मार्मिक कथा !
यस्तै मार्मिक कथाहरू बोकेका कविताहरू मर्मस्पर्शी सङ्गीतका साथमा कवि राजु स्याङ्तानबाट नै ‘लाइभ’ सुन्ने हतारोमा छु म ।
आधुनिक युगको पिपा र सुसारे बन्न अस्वीकार गर्नेहरूको आवाज बहुतै मिठो हुन्छ नि त !