© २०२३
काठमाडौं, १ भदौ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार खासगरी पश्चिमतिर घाम लागेको छ भने पूर्वतिर बादल।
‘अहिले बिहान कतै घाम, कतै बादल यस्तै छ’, उनले भने, ‘तर बिस्तारै बादल बढ्दै गएर दिउँसोतिर पानी पर्ने सम्भावना छ, त्यस्तो ठूलो वर्षाको सम्भावनाचाहिँ देखिएको छैन।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
यस्तै राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।