© २०२३
बुटवल, २६ साउन ।
पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवाहरुलाई देश विकास गर्न सकारात्मक सोंचका साथ लाग्नु सुझाव दिएका छन् । देशमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक सोंचलाई चिर्ने गरी युवा वर्ग नै राजनीतिक नेतृत्वमा आउनुपर्ने उनले सुझाव दिए ।
शुक्रबार बुटवल कालिका कलेजका शिक्षक, विद्यार्थीहरुलाई आफ्नो अनुभव सुनाउँदै नेता भट्टराईले ब्यक्ति, परिवार, समाज, देश हुँदै विश्वलाई हेर्ने अन्तरसम्बन्धको विकास गर्न सकेमात्र जीवन सहज हुने दाबी गरे । आफु एसएलसी दिंदाको स्मरण गर्दै थोरै डाक्टर पढ्नेहरु भएको बेला विदेश मोह भएका केही समकालीन साथीहरु गएपनि आफु स्वदेशमा बसेको बताए ।
स्वदेशमै केही गरौ भन्ने भावनाका साथ राजनीतिमा लाग्दा अहिलेको परिवर्तन सम्भव भएको समेत उनले दाबी गरे । ‘हामी अमेरिका, बेलायत, अष्ट्रेलिया जहाँ गएपनि कुन देशको नागरिक भन्ने प्रश्न उठ्दा नेपालसंगै जोडिन्छौ र फेरि पिछडिएको देशको नागरिकको रुपमा हेरिन्छ’—उनले भने । आफु जन्मेको ठाउँ, आफु जन्मेको देशमा योगदान गरी उन्नत भयो भने आफ्नो पनि उन्नती हुन्छ, आफ्नो ईज्जत बढ्छ र जहाँ जाँदा पनि एउटा आनन्दको अनुुभूति हुन्छ, त्यसैले यसलाई बदल्नुपर्छ भन्ने भावनाले नेपालमा बसेको उनले तर्क दिए । ‘अहिले ब्यवस्था बदलिएको भन्दै खुलापन आएको छ’—उनले भने । धेरै अवसरहरुका ढोकाहरु खुलेका छन् । जीवन सहज बनाउँदै आफ्नो निम्तिमात्र नभई मानव जातीको सदस्यका रुपमा समाजलाई के छोड्ने समयमा विचार गर्नुपर्ने बताए । ‘हामीले ब्यक्तिवादीभन्दा माथि उठेर विश्वलाई हेर्ने दृष्टिकोण बनाउनुपर्छ’—उनले भने ।
‘तपाईहरु नकारात्मक सोच राख्ने, यो देश बन्दैन, छोडेर बाहिर जानुपर्छ भन्ने हौवा चाही जुन छ यस्तो हावामा बग्न हुँदैन’— उनले भने । विवेकसंगत प्रयोग गरेर समस्या छन् तर समस्याको हल हुन्छ । समस्याको हल गर्नुपर्छ भन्ने ढंगले आफ्नो जीवनको यात्रा तय गर्न उनले सुझाव दिए । विदेश जानु गलत नभएको भन्दै उनले अनुभवलाई देश विकासमा लगाउनुपर्ने र सकारात्मक सोचका साथ लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले पुर्व प्रधानमन्त्री भट्टराई समयसापेक्ष योजना र विकासप्रेमीको खाका बनाउन सक्ने क्षमतावान नेता भएको दाबी गरे । आफु पनि उही २०२६ सालको एसएलसी ब्याचमा पढ्दा देशभरमै प्रथम भएको ब्यक्ति भट्टराईको चर्चा भएको स्मरण गरे । राजनीतिक क्षेत्रमा भट्टराईले योगदान दिन सफल भएको उनले दाबी गरे । देशभरका कलेजबाट बर्सेनि उत्पादन गर्ने दक्ष जनशक्तिलाई कुनै अवसर नपाउँदा विदेश जान बाध्य भएको दुखेसो गर्दै सरकार यस विषयमा नीतिगत रुपमा योजना ल्याउनुपर्ने उनले बताए ।
कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले कलेज ब्यवस्थापनबाट सफल ब्यक्तित्वहरुबाट भित्र्याएर विद्यार्थीहरुसंग अन्तत्र्रिmया गर्ने अभ्यास गर्दै आएको बताए । यो अभ्यासबाट शिक्षक, विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने र केही थप सिक्ने अवसर भएको समेत उनले दाबी गरे ।
कार्यक्रममा कलेजका बिबिएस संयोजक बुद्धिराम चौधरीले सामुदायिक स्तरमा सञ्चालन भएको कान्छो कलेज छोटो समयमा धेरै सफलताहरु हासिल गर्न सफल भएको बताए ।
यसैगरी पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कालिका मानव ज्ञान माविको समेत अवलोकन गरेका छन् । देशमै शैक्षिक उत्कृष्टता हासिल गरेको कालिकाको अध्ययन÷अवलोकन गर्ने पदीय हिसाबबाट भट्टराई पहिलो उच्च ब्यक्ति भएको प्रधानाध्यापक दिनेश थापाले बताए ।