© २०२३
बुटवल, २३ साउन ।
सैनामैना नगरपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसंगै विश्वब्यापी रुपमा मनाउँदै आएको सैनामैना कोरा साईक्लिङ च्यालेन्ज २०२३ तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
सैनामैना साईकल साथीको आयोजना तथा सैनामैना नगपालिका, आमा समूह, विद्यालय, संघसंस्था, युवा क्लब, अन्तर्राष्ट्रिय क्लबहरुको सहकार्यमा हुने कार्यक्रमको राईडरहरुको दर्ता, आवास ब्यवस्थापन लगायतका सबै कामहरु अन्तिम चरणमा पुगेको आयोजक सैनामैना साईकल साथीका अध्यक्ष गगन रानाले बताए । ‘अहिलेसम्म ३ सय जना राईडरहरुले दर्ता गरेका छन’—उनले भने ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न जिम्मेवारी दिएर युवाहरु परिचालन गरिएको उनले बताए । नगरमा रहेका मुख्य धार्मिक क्षेत्रहरु बुद्धकालीन रानीकुवा÷राजाकुवा, हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल पर्रोहा धाम, बक्सर कोटियामाई, गौतम बुद्ध रंगशाला हुँदै कञ्चन गाउँपालिकामा पर्ने दानापुर ताल÷समयमाई देवी मन्दिर अवलोकन गर्दै सैनामैना सिमसार क्षेत्र राजापानी, महेरवा माई मन्दिर दर्शन, कुमार गद्दी उपत्यका चिरेर चुरेको फेदी हुँदै थारुहरुको पवित्र धार्मिक मान्यता बोकेको मलमल चौरा बाबाको मन्दिर दर्शन गर्दै भैरव मन्दिर, भैरव कुण्डको दर्शन गरी सैनामैना थारु होमस्टेमा समापन हुने उनले बताए । सहभागीहरुलाई थारु साँस्कृतिक कार्यक्रम, बाजागाजा, नाचगान, थारु परिकार खानपिनबाट स्वागत गरिने बताए ।
कार्यक्रममा रुपन्देहीसहित काठमाडौं, ललितपुर, निजगढ, हेटौंडा, दाङ, नेपालगञ्ज, पोखरा, कपिलवस्तु, नवलपरासी जिल्लाबाट ३ सय बढी साईक्लिष्टहरु सहभागी हुने संयोजक गोविन्द ज्ञवालीले बताए ।
सैनामैनाका धार्मिक, पुरातात्विक, ऐतिहासिक, पर्यटकीय क्षेत्रहरुको दर्शन तथा अवलोकन गर्दै कुल ५४ किलोमिटर नगर परिक्रमा गरिने उनले बताए । कार्यक्रमको दर्तावापत संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।