© २०२३
बुटवल, २० साउन ।
रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि अगाडि सारेका प्रोजेक्ट र चालु अवस्थामा रहेका प्रोजेक्टका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।
बैठकमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्यले रोटरी क्लवले प्रोजेक्ट स्थापना मात्र होइन, यसको नियमित सञ्चालन र रेखदेखमा ध्यान दिनुपर्ने बताए । क्लवको नियमित अनुगमन र रेखदेख नहुँदा अक्सिजन प्लान्ट लगायत कतिपय स्थापना भएका प्रोजेक्ट सञ्चालनबिहीन अवस्थामा पुगेको भन्दै उनले यसप्रति सबै रोटरीयनहरु गम्भीर र संवेदनशील बन्नुपर्ने बताए ।
क्लवका पुर्व अध्यक्ष हरिप्रसाद पौडेलले प्रोजेक्ट स्थापना र यसको निरन्तर सफलताले मात्र रोटरी पनि सफल हुने भन्दै यसका लागि सामूहिक पहलकदमी आवश्यक रहेको बताए । क्लवका कोषाध्यक्ष लेखनाथ भुसालले क्लवमा नयाँ आउने सदस्यका लागि रोटरी के हो, यसको उद्देश्य के हो, रोटरीले के काम गर्छ भन्ने विषयमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।
बैठकमा अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, दिवाकर घिमिरे, वसन्त थापा, यदुनाथ पाण्डेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा क्लवका कार्यवाहक सचिव गोपालप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।