© २०२३
कृष्ण चरित्रका मुख्य पात्रको रूपमा श्रीकृष्णलाई लिने गरिन्छ । कृष्णका बाल्यकालका लिलाहरू एक होइन अनेक पाइन्छन् । उनका बाललिला सुन्दा अनौठो लाग्नेखालका पाइन्छन् । तृणाबर्त बध, वकासुर वध, अघासुर वध, प्रलम्व वध, गोवर्धन पर्वत धारण लिला, अजिंगर वध, कंश वध जस्ता आचश्र्यलाग्दा लिलाहरू अनेकन पाइन्छन् । महाभारतको युद्धको लिला त झन परको कुरा भयो । सानो उमेरमा उनले कंशको वध गरेपछि उनका बावु बासुदेव र आमा देवकीले दुबै पुत्र कृष्ण र बलरामको ब्रतवन्ध गरिदिए । दीक्षामन्त्र दिनुसंगै वासुदेवले अवन्तिपुरीमा रहेका अति चर्चित गुरु सान्दीपिनीकहाँ शिक्षा आर्जनका निम्ति लिएर गए । त्यहाँ अध्ययन गर्ने अनेक बालकहरू थिए । जो सान्दिपिनी गुरुको समिपमा रहेर विद्यार्जन गरिरहेका थिए । गुरुका समिपमा जाँदा कृष्ण र बलराम साथैमा थिए । पहिलो दिनमै दुई भाइको साथीलाई गुरुकुलको नियमको वारेमा जानकारी दिनका लागि सुदामाको साथमा पठाइयो । सुदामा कृष्ण बलराम भन्दा केही समय पहिलेदेखि सोही गुरुसंग शिक्षा आर्जन गरिरहेका थिए ।
गुरु सान्दिपिनीको गुरुकुलमा सबै शिष्यहरूलाई एकनाशले हेर्ने र समान व्यवहार गर्ने गरिन्थ्यो । त्यहाँ कडा परिश्रम समेत गर्नुपर्दथ्यो । अध्ययनका अतिरिक्त कहिले वनमा पुगेर दाउरा लिएर आउनु, पाठशाला तथा त्यसको आँगन सफा गर्नु र सरसफाइमा ध्यान दिनु । विहान सबेरै उठेर योगाभ्यास गर्नु जस्ता कार्यहरू गर्नुपर्दथ्यो । पहिलो दिनमा सुदामाका साथमा कृष्ण र बलरामलाई पठाएपछि उनीहरूको भोक प्यास मेटाउनका लागि सुदामाले निकै ध्यान दिएर सेवागरे । यहीक्रममा कृष्णले सुदामालाई मित्र भनेर सम्वोधन गरेका थिए । सुदामा यो शब्द सुनेर आश्चर्यमा परेका थिए । कृष्णले आफ्नो मित्रता जीवनभर रहने भनेर बाचा गरेका थिए । यो बाचाले सुदामाको मनमा कृष्णप्रति थप प्रेम भावना जागेको थियो ।
सुदामा ब्राह्मण कुलका थिए, कृष्ण राजघरानाका थिए । कृष्ण र सुदामाको मित्रताले उनीहरू एउटै कुलघरानाका हुन भन्ने जस्तो लाग्दथ्यो । पढ्ने समयमा कहिले सुदामाले कृष्णलाई भविष्यको कल्पना गरेर पनि केही कुरा गर्दथे । कृष्णले भविष्यमा पनि आफ्नो मित्रता दिगो रहने वचन दिईरहन्थे । शिक्षा आर्जनपछि कृष्ण मथुरा फिर्ता पुगे । केही समय पछि उनले द्वारकामा राजधानी सारे । त्यहाँको राजपाठको जिम्मा पनि उनको काँधमा आयो । उनलाई द्वारकाधिशका नामले पुकार्न लागियो । उता कृष्ण द्वारकाधिश बनेर अनेकन लिला गर्न लागे । यता सुदामाले आफ्नो पुराना सखाको सम्झना र सम्मानका निम्ति हरक्षण श्रीकृण जपना गरिरहन्थे । उनको बोलीमा सधै श्रीकृष्ण, श्रीकृष्ण रहन्थ्यो । उनको आर्थिक अवस्था अति नाजुक थियो । उनी आफू पनि शारीरिकरूपले केही कमजोर भएको हुनाले उनले आफ्नो परिवार पाल्नका लागि विभिन्न टोल छिमेकमा पुगेर भिक्षा मागेर ल्याउने र परिवारलाई भरण पोषण गर्ने गर्दथे । आर्थिक अवस्था अति कमजोर भएको हुनाले उनकी श्रीमतीले शरीरमा लगाउने कपडा टालो हालेर लगाउँदा त्यो कपडाका टालाहरूले रंगीविरंगी देखिन्थ्यो । त्यो भेष देखेर छिमेकीहरूले उनलाई गिज्याउँथे । उनी त्यो अपमान सहन वाध्य थिइन ।
सुदामाले हरक्षण श्रीकृष्ण भनिरहने हुनाले सुदामाकी श्रीमतीले कृष्णलाई भेट्न जान र आफ्ना कुरा सुनाउन आग्रह गरिन । तर सुदामाले मित्रसंग आफ्नो दर्द देखाउन जान आनाकानी गरे तर उनकी श्रीमतीले बढ्ता कर गरे पछि सुदामा कृष्णलाई भेटन जान राजी भए । जाँदा के लिएर जाने भन्ने अर्को चिन्ता भयो । सुदामाकी श्रीमतीले टोलमा पुगेर थोरै कनिका मागेर ल्याइन र कृष्णलाई उपहार दिनका लागि श्रीमानका हातमा थमाइन । सुदामा आफ्ना बालसखा कृष्णलाई भेट्नका लागि द्वारका पुगे । विभिन्न चोक चोकमा सुरक्षा व्यवस्था थियो । सुदामाले आफू कृष्णको बालसखा भएकाले कृष्णलाई भेटन आएको कुरा सुनाए । उनको शरीरमा एउटा धोती थियो । त्यो पनि अति जीर्ण । ठाउँ ठाउँमा फाटेको थियो । उनको पोशाक देखेर द्वारकाका वासिन्दाले मानसिक सन्तुलन गुमाएको ब्यक्ति सम्झिए । यस्तो मानिस कृष्णको सखा हुन सक्दैन भनेर उनको खिल्ली उडाए । कृष्णलाई भेटन दिने वातावरण बनाउनुको साटो उनको मानसिक दुर्वलता रहेको ठान्न पुगे । सुदामा द्वारकामा पुगेको खवर कुनै माध्यमबाट कृष्णको कानमा पुग्यो । कृष्ण आसनबाट उठेर खाली खुट्टा सुदामालाई भेटन सहरमा दौडन लागे । उनी सुदामालाई पुकार्दै .दौडिए । उनी खाली खुट्टा दौडिएको देखेर द्वारकावासी आश्चर्यमा परे । सुदामा निकै टाढा पुगेका थिए । कृष्णले निकै मेहनत गरेर सुदामालाई भेटन पुगे । नागरिकहरू द्वारका नगरमा यत्रतत्र थिए । त्यसको प्रवाह नगरेर कृष्णले सुदामालाई चौबाटोमा अंकमाल गरे । दर्शकहरू तीनछक परे । कहाँको द्वारकाधिश कहाँको सुदामा ? कृष्णले उनलाई आफ्नो कक्षमा लिएर गए । यो घटना देख्नेहरूका लागि सपना देखे जस्तो भयो । केहीले त यो के देख्नु परेको भनेर समेत भने तर केही ज्ञानीहरूले बालसखाको विश्लेषण गरेर मित्रताको चरम चुली देखेर हर्षित भए ।
आफ्नो कक्षमा लगेर कृष्णले सुदामालाई स्नान गराए । नयाँ वस्त्र दिएर मित्रताको थप प्रमाण दिलाए । आफूले सुदामाले चाहना गरेको कुरा सोधे तर सुदामाले आफू कुनै वस्तु लिन नआएको कुरा सुनाए । सुदामाले आफू लिन आएको नभइ दिन आएको भनेर आफ्नी श्रीमतीले दिएको कनिका कृष्णको हातमा दिए । कृष्णले त्यो कनिका अति स्वादिष्ट ठानेर खानलागे । उनकी श्रीमती रुक्मिणी र सत्याभामाले समेत अति स्वादिष्ट वस्तु ठानेर ग्रहण गरे । यो कुरा शहरभरी हावासरी फैलियो । त्यो मैलो हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने सुदामालाई खाली खुट्टा लिन जाने अनि आफू सक्दो सेवा गर्नु । साथमा उनले लिएर आएको कनिका नपकाई अति स्वादिष्ट वस्तु ठानेर ग्रहण गर्नु जस्ता कुरा जसले मित्रताको अर्थ जान्न सक्दैन उसले आश्चर्य ठान्दछ भने मित्रताको मर्म जानेको र बुझेको व्यक्तिले यसमा पनि कमी देख्दैन होला ।
ज्ञानीहरूले कहिलेकाँही विभिन्न स्थानमा प्रसंग चलेको समयमा सुदामाको कनिका भनेर उदाहरण दिने गर्दछन । कृष्णको कथा यो सत्य होला वा नहोला तर मित्रताको कथालाई एक पटक मनन गर्न जरुरी छ जस्तो लाग्दछ । लौ एकपटक आफूले आफूलाई कसी लगाऔं । आफ्ना सखा जो जस्तो अवस्थामा छ या जस्तो पेशा व्यवसाय गरेर जीवन निर्वाह गरेको छ । उसलाई मैले कसरी हेरेको छु र कस्तो व्यवहार गरेको छु ? हाम्रा पनि कतिपय बाल सखाहरू हुनुहुन्छ । उहाँहरू कति उच्च ओहदामा पुगिसक्नु भएको छ । सुकिला मुकिला हुनुहुन्छ । कहिले लाग्छ हामीसंग साथैमा बस्दा उहाँहरूलाई असहज लाग्छ होला । उहाँहरूको उचाइ कति माथि छ ? थाहा छैन तर बालसखा भन्न पनि गाह्रो लाग्छ होला । एक समयको कुरा हो– शहरमा बस्ने एउटा छोराले आफ्ना बाबुलाई साथीसंग चिनाउन खोज्दा सर्भेन्ट भनेको थियो रे । आफ्ना बावुलाई बावु नभनेर सर्भेन्ट भन्नेले आफ्नो त्यस्तै हैसियतको साथीलाई के भन्ने गर्दा हुन ? यस्ता प्रश्नहरू कहिलेकाँही मनमा उब्जने गर्दछन् । मित्रता कपडामा नापिदैन् । टल्कने जुत्तामा मित्रता हुँदैन । सुकिला मुकिला पोशाकमा मित्रता हुँदैन । मित्रता केवल सुदामाको कनिकामा हुने गर्दछ । कृष्ण जस्तो मित्र भेटियो भने सुदामा जस्ता बालसखाको उद्धार समेत हुन जानेछ । वास्तविक मित्रताको यो उपमा हो भन्ने लाग्दछ । धन्यवाद !