© २०२३
अर्घाखाँची जिल्ला सन्धिखर्क—८, किमडाँडाको मुखेली खानदानमा पिता मणिराम भुसाल र माता तुलसा भुसालको कोखबाट वि. सं. २००६ सालमा जन्मनुभएका श्री टीकाप्रसाद भुसाल उर्फ भीमबहादुर थापाले आफूलाई एक कर्तव्यनिष्ठ सफल शिक्षकको रूपमा स्थापित गर्नुभयो । ६ भाइ दाजुभाइमा काहिँला र ४ बहिनी दिदी बहिनीको एक बृहत् परिवारमा हुर्कनुभएका सरका ३ वटी आमा हुनुहुन्थ्यो । उहाँको शिक्षादीक्षा दाजु फत्यबहादुर भुसाल(थापा)को रेखदेखमा देहरादुनको सैनिक विद्यालयमा भएको थियो । उहाँका ठूल्दाजुले पल्टनमा थापा थर लेखाउनुभएकाले फत्य दाइका नाताले सैनिक विद्यालयमा पढ्नुपर्दा उहाँको नाम भीमबहादु थापा राखिएको थियो ।
भारतमै विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी अर्घाखाँचीको तत्कालीन विजय नि.मा.वि.डिभर्ना हाल विजय मा. वि. मा वि.सं. २०३२ सालमा टीका सरले अध्यापन सुरु गर्दा हामीले कक्षा ६ मा पढ्थ्यौँ । विज्ञान, गणित र अङ्ग्रेजी विषयको दखलताको पवित्र जलले अभिसिञ्चित हाम्रा नसनाडीका तन्तुहरू उहाँको सम्झनामा सधै रोमाञ्चित हुने गर्छन् ।
लामो समय भारतमा बसी हुर्के बढे, पढेको हुनाले होला सुरुसुरुमा कतिपय नेपाली शब्द झट्ट नआउने समस्या टीका सरलाई थियो । तर नेपाली शब्द आएन भनेर अड्केर नबसी आफूले जानेको हिन्दी शब्दले काम चलाउने उहाँको बानी थियो । त्यसरी हिन्दी शब्द प्रयोग गर्दा हामीहरूका लागि कहिले नबुझिने समस्या र कहिलेकाहीँ हाँसो उठ्ने पनि हुन्थ्यो । सफा चिटिक्कको पहिरन, कहिले पाली टोप, कहिले पातलो कपालको जुल्पी लर्काएर विद्यालयमा आउने टीका सर पछिपछि ढाका टोपीमा सजिने गर्नुभयो । पातलो शरीर लामो नाकको विशेषताले नयाँ शिक्षाका अङ्ग्रेजी पुस्तकमा मिस्टर सिं पात्रको कार्टून खालको चित्रसित टीका सरलाई दाँजेर हाँस्ने गरिन्थ्यो ।
सैनिक विद्यालयको छाप हो वा जवानी जोसको कारण हो सिकाएको कुरा विद्यार्थीले राम्ररी तयार नगर्दा टीका सर निकै रिसाउनुहुन्थ्यो । त्यस बखत शिक्षकले विद्यार्थी पिट्नुलाई खासै ठूलो कुरा मानिन्नथ्यो । विद्यार्थीको सामान्यभन्दा सामान्य गल्तीमा पनि शिक्षकले विद्यार्थीलाई हात थाप् भनेर लठ्ठीले हत्केलामा सम्काउनु सामान्य चलन थियो । यो चलनलाई टीका सरले पनि अरू सरह नै प्रयोग गर्नुहुन्थ्यो ।
हाम्रा कक्षा ६ का सुरुसुरुका दिन, टीका सरले गणित पढाउँदै हुनुहुन्थ्यो । सामान्य खालको भागको समस्या हामीलाई हल गर्न दिनुभएको थियो । हामीले उपयुक्त समयमा हल गरेनौँ सायद । नजानेकै अवस्थाचाहिँ थिएन । तर उहाँलाई कक्षा ६ का विद्यार्थीले यत्तिको समस्या अलि छिट्टै गर्नुपर्ने भन्ने लागेछ । अनि उहाँले केही चर्को बोलीमा “ २० सम्मका पाहाडा को को ले जानेका छौ ?” भनेर सोध्नुभयो । पहिलो कुरा त पाहाडा भन्ने शब्द नै बुझिएन । पाहाडाको अर्थ दुना हो भन्ने बुझेपछि पनि कसैले पनि २० सम्मका दुना जानेका छौँ भनी दावी गर्ने अवस्था थिएन । २ जना जति डाइना रहेर अरू सबैलाई टीका सरको पिटाइ खोप प्राप्त भयो । त्यो पनि भोलि जहाँबाट जसरी सोधे पनि भन्न सक्ने गरी जानेर आउने सर्तमा । सबै काम छाडी अर्को दिन २० सम्मका दुना जसरी सोधे पनि भन्न सक्ने गरी तयार पायौँ । यसले हामीलाई गुणन, भाग गर्न निकै सजिलो भयो । भाग गर्दा विशेष गरी भाजकको सुरुको अङ्क १ भएको सङ्ख्याले कति पटक भाग जान्छ भनी अड्कल गर्न निकै सजिलो भयो । सानै कक्षामा दुनाको यादले हिसाब गर्दा खेस्रा गर्दा हुने समयको बर्बादीलाई टीकासरको आज्ञा पालनका कारणले जीवनभर रोक्न सक्यौँ ।
कुरा कक्षा ६ कै गणित विषयको पिरियडको हो । टीका सरले आज तिमीहरूलाई गणितका केही नियम सिकाउँछु भन्दै ती नियमहरू कालो पाटीमा लेखिदिएर हामीलाई सार्न लगाउनुभयो । जोड, घटाउ, गुणन, भाग क्रियामा Commutative law, Associative law, Distributive law लेख्नुभयो । Vegetables शब्दका हिज्जे जान्दा मेरा बाबै १० वटा अक्षर भएको लामो तर सार्थक शब्दका स्पेलिङ जान्यौँ भनेर गफ गर्ने हाम्रो हैसियत ती पारिभाषिक शब्द लेख्दैखेरि सातो उडेको थियो । तर यी नियम जोड, घटाउ, गुणन, भाग कुन कुन क्रियामा लागू हुन्छन् कुन कुन क्रियामा लागू हुन्नन् भन्ने कुरा सामान्य उदाहरण दिएर राम्रोसित छर्लङ्ग पार्दा आनन्द लाग्यो । द्यइम्ःब्क् को नियम जानेर गणितको छेउटुप्पो नाप्न सक्ने भैयो भनेर गमक्क परेका बेला यी नियमले गणित क्रियाहरू गर्न अझ ठूला क्षितिजको उद्घाटन गरिदिए । यी नियमहरू गणितीय क्रिया बोधका लागि सिकाउनुभएको रहेछ । हिसाब गर्दा कहिलेकाहीँ सन्दर्भले यी नियमका कुरा उक्काए पनि यिनको परिभाषा र प्रयोगका बारेमा कहिले पनि सोध्नुभएन । पछि म आफूले आइएससी पढ्दा गणित विषयमा यी नियमका कुरा आउँदा अरू साथी नबुझेर अलमलिएका बेला म भने बुझेर निकै मख्ख परेको थिएँ । ती कक्षामा मैले टीका सरलाई झल्झली सम्झेको थिएँ र यी नियमका कुरा आउँदा जति बेलामा पनि त्यो कक्षा ६ को कक्षामा बसेर सिकिरहेको याद आइहाल्छ ।
राष्ट्रिय विकास सेवाका विद्यार्थी श्री माधवप्रसाद अधिकारीले हामीलाई कक्षा ६ को अङ्ग्रेजी द्वितीय पत्र पढाउनुहुन्थ्यो । एक दिन माधव सरको अनुपस्थितिमा टीका सर अङ्ग्रेजी पढाउन आउनुभयो । I have two things in my pocket शीर्षकको पाठ थियो । अङ्ग्रेजी पढ्दा पढाउँदा प्रत्येक वाक्यलाई पहिले अङ्ग्रेजीमा पढ्ने अनि नेपाली अनुवाद भन्ने चलन थियो । त्यसै क्रममा But को अनुवाद लेकिन भन्नुभयो टीका सरले । हामी सबैको एकै चोटी हाँसोको फोहोरा छुट्यो । हाँस्न त हाँसियो अब के के हुने हो भन्ने त्रास छँदै थियो । मैले हिन्दी शब्द प्रयोग गरेर केटाहरू हाँसे भनेर उहाँ पनि हाँस्नुभयो । अनि त हामी अलि निर्धक्कले दोस्रो चोटी हाँस्यौँ ।
टीका सरका चुँकी, हालाकी, अच्छा, वास्तवमा जस्ता शब्दको प्रयोग हामीलाई निकै रमाइलो लाग्थ्यो । विज्ञान विषयको तापले वस्तुको आयतन बढाउँछ भन्ने सन्दर्भमा ग्र्यावसेन्ड रिङको व्याख्याले भविष्यमा वैज्ञानिक बन्ने रहर जागेको थियो । तापको प्रसारमा तरल पदार्थमा परिवहन तरिकाको उदाहरण दिँदा काठको धूलो पानीमा हाली स्थिर भएपछि तताउन लाग्दा ती काठका कण यताउता डुल्छन् । पानी नै यताउता गएकाले काठका कण यताउता गरेका हुन् भन्ने व्याख्या थियो । काठको धूलोलाई बुरादा भनी सिकाउनुभयो । टीका सरको सम्झनासितै त्यो बुरादा शब्द पनि टपक्क टाँसिएर आज पनि आइहाल्यो ।
टीका सर विजय नि.मा.वि.को प्रधानाध्यापक भएपछि विद्यालयमा छुट्टै रौनक छायो । शिक्षकको अनुपस्थितिमा सकेसम्म कक्षा खाली हुन नदिने, विद्यालयको सह क्रियाकलापलाई नियमित गर्ने, समय परिपालनको विषयलाई विशेष ख्याल गर्ने व्यवस्था भयो । काफल, तिँजु, ऐँसेलु… का बुटा चाल्दै ढिला आउने विद्यार्थी पनि समयमै आउन लागे । आज बाटोमा फलानो भेटियो, घरमा यस्तो भयो उस्तो भयो भनेर अबेर गर्ने शिक्षक पनि अलि तातिएर समयमै आउने अवस्था बन्यो । समय परिपालनले हुने आनन्द छुट्टै हुने रहेछ भन्ने कुराको अनुभूति सबैलाई भयो ।
टीका सर विजय नि.मा.वि.को नजिकै पर्ने गहते गाउँका देवी आचार्य सरको घरमा बस्नुहुन्थ्यो । खानपिन पनि देवी सरकै भान्सामा हुन्थ्यो । एक दिन घरबाट दुवै जना विद्यालय जान सँगै हिड्नु भएछ । १० बजे विद्यालय पुग्न गाह्रो हुने देखेर टीका सर अलि अप्ठ्यारो तर छोटो बाटो लाग्नुभएछ । देवी सर सजिलो बाटो लाग्नुभएछ । देवी सर विद्यालय पुग्दा १०ः०५ भइसकेछ । त्यति बेलासम्म टीका सरले अनुपस्थित हुने सरहरूको हाजिरीमा रातो लगाइसक्नुभएको रहेछ । यस घटनालाई कसैले अति भयो भनेर विपक्षमा कुरा पनि काटे । तर कुनै झगडाझाम्टो भएको थाहा भएन । यस घटनाले त टीका सरको समय परिपालनको अनुशासनलाई अझ मजबूद बनायो ।
कक्षा ७ मा पढ्दा मैले जेहन्दार छात्रवृत्ति पाएँ । रकम थियो रु २४०।—, ३००—४०० मा त लोतोपोतो बकेर्ना भैँसी आउने जमाना थियो त्यो । मेरा दाजु श्री विष्णुप्रसाद पराजुली त्यस विद्यालयमा पूर्वव्यावसायिक शिक्षा विषय पढाउने शिक्षक हुनुहुन्थ्यो । म अफिसमा बोलाइएँ । अफिसमा सम्पूर्ण गुरु वर्गको उपस्थिति थियो । प्र.अ. टीका सरले रु १० दरका नोटको बिटो हातमा दिँदै छात्रवृत्तिको व्यहोरा पढेर सुनाउनुभयो । म खुसीले निकै रोमाञ्चित भएँ । सधैजसो जाडो हुने डिभर्नाको सिरेटे जाडोमा रपरप पसिना रसाए । हातको पैसातिर सङ्केत गर्दै मैले रजिस्टरमा पढ्दा भने जति पैसा छ छैन गन् भनेर टीका सरले भन्नुभयो । गुरु आज्ञा शिरोपर गरी मैले गन्न लागेँ । ती सल्सलाउँदा नयाँ नोटलाई मैले सह्माल्न सकिनँ । नोटहरू टेबुलमा छिरोलिए । अनि हाँस्दै टीका सरले सह्मालेर गन्नुभयो र मलाई दिनुभयो । मैले तातो आलु खेलमा जस्तै गरी तुरुन्तै दाजुलाई दिएँ ।
अभिभावकको उपस्थितिमा विद्यार्थीलाई वेवास्ता गर्ने चलन अहिले पनि छ । तर टीका सरले विद्यार्थीलाई पूर्ण व्यक्तिको दर्जा दिएर दाजुका साम्नेमा मसित पूर्ण कारोबार गर्नुभयो । जीवनमा साँच्चै एक सामाजिक व्यक्ति भएको पहिलो अनुभूति मेरा आदरणीय गुरुले दिलाउनुभएको थियो मलाई । मेरा अभिभावक दाजु आफ्नै स्टाफ हुँदाहुँदै मलाई पूर्ण विधिवत त्यो सरस्वतीको प्रसाद लक्ष्मी मेरै हातमा थमाएर जुन विधिको परिपालन गर्नुभयो, अहिले सम्झदा निकै अचम्म लाग्छ । उहाँको हातबाट मैले सरकारी स्रोतबाट वृत्ति सञ्चालनको मूल प्राप्त गर्ने साइत निकै शुभ प्रमाणित भएको छ । थोरैतिनो आर्थिक स्रोत जीवनभरि पाउने सम्झौता निवृत्तिभरणको जग पनि मैले सोही दिनको शुभ साइतलाई मान्ने गरेको छु । मैले विद्यार्थी जीवनमा थुप्रै छात्रवृत्ति पाएँ तर बाल्यकालको घटना भएर होला उल्लिखित अवसर मेरो जीवनमा निकै अविष्मरणीय बन्न पुग्यो ।
सुरुसुरुमा भाषाको समस्याले होला टीका सर धेरै सुन्ने थोरै बोल्ने प्रवृत्तिको व्यक्ति भन्ने गर्थे सबैले । तर पछि भने उहाँ बोलाकी बन्नुभयो । बिएड गरेपछि उहाँमा निकै ठूलो परिवर्तन आएको कुरा उहाँ आफै भन्नुहुन्थ्यो । तिमीहरू भन्दा हौ टीका सरले उस्तै गरी पिट्छ भनेर । मैले बिएड् गरेपछि त विद्यार्थीलाई ठ्याक्कै पिट्न छाडेँ नि ! यत्ति भनाइले उहाँको विगतको गल्तीको प्रायश्चित भएको छ । आफूले गरेको गल्तीको बोध हुनु र सो अनुसारको आचरणमा परिवर्तन हुनु जस्तो उत्तम प्रायश्चित के होला !
स्वस्थ चुस्त आकर्षक आभा मण्डल अनुहारयुक्त टीका सरलाई केही समयपछि पेटमा फित्ते जुकाको समस्याले सतायो । त्यसको उपचारमा निकै कडा औषधी सेवन गर्दा कानको श्रवण शक्ति विस्तारै कमजोर हुँदै गयो । पछि त कानमा श्रवण यन्त्र नै लगाउनुपर्ने अवस्था आयो । तै पनि उहाँ कहिल्यै निराश देखिनुभएन ।
टीका सरले अर्घाखाँचीका विजय नि.मा.वि. डिभर्ना, जनज्योति मा. वि. चुत्राबेँसी, जनता कृष्ण मा.वि. पकले, सुधा मा.वि. जुकेनामा अध्यापन गर्नुभयो । यसपछि काठमाडौँ टेकुको सरस्वती निकेतन र जनप्रभात मा.वि. कालीमाटीमा अध्यापन गर्नुभयो । अध्यापनमा ३५ वर्ष अर्पण गरेर अवकाश प्राप्त जीवन बिताइरहनु भएको अवस्थामा पछिल्लो समयमा उच्च रक्तचापको समस्याले सताउँदै थियो । सोही समस्याका कारण मिति २०८० साल श्रावण १ गते सोमबारे औँसीका दिन टीका सर ब्रह्मलीन हुनुभयो । आदरणीय गुरुका दुई श्रीमती र ३ छोरीहरू हुनुहुन्छ । गुरुमा हुनुपर्ने गुरुत्वका धनी श्रद्धेय गुरूप्रति हार्दिक श्रद्धाञ्जली साथै शोक संतप्त परिवारजनप्रति उहाँका सम्पूर्ण विद्यार्थीका तर्फबाट गहिरो समवेदना !