© २०२३
काठमाडौँ, १० साउन ।
प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसदमा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।
‘सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानविन हुनुपर्छ । भरियालाईमात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ’, बैठकपछि सांसद पन्तले भने, ‘ सुन तस्करीमा जो जो सामेल छन् उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ त्यसका लागि हामी जोडदार आवाज उठाउँछौ ।’
त्यस्तै उनले सरकारका मन्त्रीहरुले काम नगर्ने तर ठुला ठुला कुरामात्र गरिरहेको बताए । ‘दोषी कोहो त्यसलाई जनतासमक्ष ल्याउनुपर्यो र कानुनी कारबाही गर्नुपर्यो । संसदमा हामी आफ्नो कुरा राख्छौं, जवाफ कस्तो आउँछ थप कुरा त्यसपछि निर्णय गर्छौं’, पन्तको भनाइ छ ।