© २०२३
लमही, ८ साउन । दाङको लमही कोइलवास सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि लमहीमा भने सडक अधुरो रहेको छ । सडक बिस्तारको क्रममा लमही क्षेत्रमा सडक क्षेत्रभित्र व्यक्तिहरूको जग्गामा परे बापत नेपाल सरकारले मुआब्जा बापतको रकम ३ वर्ष अगाडि वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
स्थानीयहरूले सडकमा परेको जग्गाको मुआब्जा बुझे पनि जग्गामा रहेका संरचनाको समेत मुआब्जाको माग राख्दै खाली नगराउँदा हुलाकी सडक झन सागुरिँदै गएको छ । अहिलेसम्म ४३ करोड ६१ लाख रूपैयाँ जग्गाको मुआब्जा वितरण गरिएको छ । जग्गाको मुआब्जा बुझ्ने तर, संरचना नहटाउने समस्या छ ।
पटक–पटक लमही नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गर्दै आएको छ । अर्कोतिर सोही मुद्दालाई निर्वाचनको एजेण्डा समेत बनाएका लमही नगरपालिकाका मेयर जोखराज चौधरीले आफूले निर्वाचन जिते लगत्तै यस विषयमा मौन देखिएका छन । उनले लमही कोइलबास सडक बिस्तार गर्ने त्यसमा रहेका सरंचना हटाउने पहिलो निर्वाचन घोषणापत्रमा प्रतिवद्धता जनाएका थिए । कार्यान्वयको बिषयमा मौन बसेपछि अहिले उनीमाथि प्रश्न उठेको छ ।
यद्यपि उनी निर्वाचित भएको डेड वर्ष बितिसक्दा पनि उनले पहिलो प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै लमही वासिहरू आलोचना गर्न थालेका छन । उनले आफू निर्वाचित भए लगत्तै पहिला आफ्नो सोही क्षेत्रमा रहेको घरमा डोजर चलाउने भनेका थिए । खोइ त ? कार्यान्वयन नागरिक समाज दाङका सहसयोजक निम वहादुर थापा भन्छन ।
मेयर चौधरी आफूले पटक पटक सडकका सरंचना हटाउन प्रयास गरेको तर स्थानीयवासीको असहयोगका कारण सफल नभएको स्वीकार गरेका छन ।
लमही नगरपालिकादेखि बजारक्षेत्र हँुदै राजमार्ग चौराही गरि झण्डै १ किलो मिटर सडकको जग्गा खाली नगराउँदा सडक खुम्चीदै जान थालेको छ । सागुरो सडकले सवारी साधनको चाँप थेक्न समेत सकेको छैन । सडकको दुवै पटटी नाली निर्माण हुन नसक्दा थप सडक अव्यवस्थित बनेको छ । लमही कोइलावास हुलाकी राजमार्ग निर्माण गर्ने क्रममा सडक प्रभावितलाई यस अगाडी नेपाल सरकारले रु. ४३ करोड बढी रकम जग्गाको मुआब्जामा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । तर, जग्गाको मुआब्जा बुझेपनि सडक क्षेत्र खाली नभएको भन्दै जिल्ला प्रशासनले दुःख व्यक्त गरेको छ । सडकमा परेका घर तथा टहरा नहटाउँदा बजार क्षेत्रमा समस्या थपिँदै गएको छ । लमही कोइलावास सडक कालोपत्रे सुरु हुने बेला साविक सडकलाई आधार मानेर काम भएको थियो । साविक १२ मिटर रहेको सडक चौडा गरि ३० मिटर कायम गरिएको हो । लमही बाहेक अन्य स्थानमा सडक चौडा गरिएको छ ।
यद्यपी लमहीमा पक्की नालासमेत नयाँ बनाइएन । पुरानै कायम गरियो । लमही–कोइलावास हुलाकी सडक निर्माण गर्ने क्रममा बजार क्षेत्रमा पर्ने संरचना पनि हटाउने योजना वनाइ लमही नगरपालिकाले पटक–पटक सूचना जारी समेत गरेको लमही नगरपालिका मेयर जोगराज चौधरी बताउँछन ।तर, स्थानीयले घरको मुआब्जा माग गरेपछि संरचना हटाउने काम रोकिएको उनले वताए । अहिले पनि आफूहरूलाई जग्गाको जस्तै घरको मुआब्जा चाहिने स्थानीयको माग छ ।
सडकको दायाँबाँया १५/१५ मिटर खाली हुनुपर्नेमा अहिले ७ मिटरको सडक मात्रै कालोपत्रे भएको छ । अहिले बजारमा सवारी साधनको चाप बढेकाले दुर्घटनाको जोखिम समेत रहेको स्थानीय वुद्धिजिवी वताउँछन् ।