© २०२३
बुटवल, ६ साउन । प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा ढकाल जिल्ला शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर पाल्पाको नुवाकोट पुगेर घुमफिर र खानपानपछिको अवस्थामा भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासन कार्यालयमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।
सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
ढकालसँगै केही निजी विद्यालय संचालकहरु पनि साथमा रहेको बताइएपनि उनीहरुको नाम सार्वजनिक भएको छैन ।
समाचार स्रोतका अनुसार ढकालसँगै काठमाडौंबाट आएका एक जना पत्रकार र पब्लिक मावि दयानगर छपियाका प्रधानाध्यापक पनि उक्त सवारी साधनमा रहेका थिए । उनीहरुको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवलमा रहेको स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा राखेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् । ढकालले यसअघि पनि पटक–पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।