© २०२३
बुटवल, १ साउन ।
सिद्धार्थनगर नगरपालिकाले पहिलेकै ठाउँमा फोहर फाल्न लागेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले आफूहरुको माग र चाहना विपरित रातको समयमा फोहर फाल्न लागेको भन्दै सोमबार नगरपालिका घेराउ गरे ।
उनीहरुले सिद्धार्थनगर नगरपालिकाको गेट अगाडि प्रदर्शन गर्दै फोहर नफाल्न आग्रह गरे । प्रदर्शनमा उत्रिएका नगरबासीले नगरपालिकाले प्रहरी प्रशासनको सहयोग लिएर तानाशाही प्रवृत्ति देखाउन खोजेको आरोप समेत लगाएका छन् । यदि स्थानीयको मागविपरीत नगरपालिकाले पहिलेकै ठाउँमा जबरजस्ती फोहर फालेर पुरानै प्रवृत्ति दोहो¥याएमा गाउँको सबै फोहोर संकलन गरेर नगरपालिका कार्यालय परिसरमै फालिदिने उनीहरूले चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनमा सहभागी सिद्धार्थनगर नगरपालिका–२ का स्थानीय तथा पूर्ववडाध्यक्ष दीपक थापाले नगरपालिकाले स्थानीयवासीको मागलाई बेवास्ता गर्दै नगरपालिकाले रातको समयमा प्रहरीको साथ लिएर तानाशाही प्रवृत्ति देखाउन खोजेको आरोप लगाए । ‘नगरपालिकालाई तीन दिन थुप्रिएको फोहोरले दुर्गन्ध हुन्छ भने हामीलाई ३० वर्षदेखि थुपारेको फोहोरले कति दुर्गन्ध भएको होला ?’ थापाले भने, ‘स्थानीयको चाहनाविपरीत नगरपालिकाले जबरजस्ती फोहोर फाल्न खोजेको प्रवृत्तिको हामी विरोध र भत्र्सना गर्दछौं ।’
प्रदर्शनकारीले करिब आधा घण्टासम्म नगरपालिका कार्यालयको गेटअगाडि विरोध प्रदर्शन गरेका थिए । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीको परिचालन गरिएको थियो ।
सिद्धार्थनगर नगरपालिका २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले नगरपालिकाले बल प्रयोग गरेर समस्या समाधान नहुने भएकाले छलफलबाट निकास निकाल्न आग्रह गरे ।