© २०२३
पाल्पा, २९ असार ।
पाल्पाको माथागढी गाउँपालिकाका कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय तानसेनमा निवेदन दिएका छन् । उपभोक्ताहरूले कर्मचारीको कारण भुक्तानी नभएको भन्दै लेखा शाखामा धर्ना दिँदै कर्मचारीलाई गालीगलौज गर्दै लठ्ठी प्रहार गरेपछि कर्मचारीले सुरक्षाको माग गरेका हुन् ।
आर्थिक वर्षको अन्त्यमा योजना सम्पन्न हुँदा भुक्तानी नपाएको भन्दै उपभोक्ताहरूले गाउँपालिकामा दबाव सिर्जना गर्न पुगेका थिए । पीडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएको, कार्यपालिका बैठकमा लेखा अधिकृतको हुर्मत लिइएको तथा ज्यान मार्ने धम्की तथा आक्रमण हुँदा गाउँपालिका अध्यक्षले अभिभावकत्व नलिएको आरोप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
असार २४ गते योजनाको भुक्तानीका क्रममा महालेखाको सुत्र ओभरलोड भएका कारण देशका धेरै स्थानीय तहमा भुक्तानीमा समस्या देखिए जस्तै पाल्पाको माथागढीमा यो समस्या देखिएको हो । सुत्र नचलेपछि समितिका खातामा भूक्तानी नभएको अवस्थामा लेखा र प्राविधिक शाखाका कर्मचारी वन्दी बनाएर कुटपिट गर्ने प्रयास भएको कर्मचारीहरुले बताएका छन् ।
भूक्तानीका फाईलहरुका भौचर उठिसकेको भए पनि सुत्र नचलेका कारण खातामा रकम नगएकाले प्राविधिक समस्या उत्पन्न भइ भुक्तानी बाँकी रहेको अवस्थामा उपभोक्ताहरू आक्रोशित भएका हुन् । उपभोक्ताहरूले आफूहरूले समयमै काम सम्पन्न गरी भुक्तानी माग गरेको दाबी गरेका छन् ।
माथागढी गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिबाट कर्मचारीले अभिभावकत्व महसु्स गर्न नसकेको समेत जनाएका छन् । घटना स्थलमा स्वयम् वडा नं. १ र ३ का वडा अध्यक्ष हँुदा समेत आफुहरुमाथि भएको आक्रमण प्रयासलाई रोक्न नखोजेको उल्टै उपभोक्ताहरुलाई उक्साएको आरोप कर्मचारीहरुको छ ।
यता माथागढी वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार पन्थीले योजनाका काम सम्पन्न गरिसकेपछि उपभोक्ताले भुक्तानी लिनका लागि धर्ना दिदा सामान्य घटना भएको बताए । उनले कर्मचारीले आफ्नो कमजोरी ढाकछोप गर्न खोज्दा र फलानो वडाको कामै गर्न मन लाग्दैन भन्ने जस्ता अभिब्यक्तिले उपभोक्ता आक्रोशित भएको बताए । वडाअध्यक्ष पन्थीले अन्य वडाका उपभोक्ता समेत धर्नामा जाने तयारी भएकोमा आफुहरुले रोकेको बताए ।
माथागढी गाउँपालिकामा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको भिडियो अहिले सामाजिक संजालमा बाहिरिएको छ ।