© २०२३
चन्द्राैटा(कपिलवस्तु), २७ असार ।
निर्माण सम्पन्नपछि भत्किएको पिसिसी ढलानको रकम कट्टा गरिएकाे छ । पिसिसि भत्किएपछि पालिकाले कामकाे मुल्यांकन गरि रकम कट्टा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाकाे विजयनगर गाउँपालिकामा उपभोक्ता समिति मार्फत देवीपुर र डालपुर जोड्ने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुबै छेउ पिसिसि ढलान बजेट विनियोजन गरिएको थियोे ।
कल्भर्ट स्ल्याव र पिपिसी ढलानका लागि गाउँपालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो । निर्माण गरेको पिसिसि भत्किएपछि पालिकाले मुल्याङ्कन गरी २ लाख ६४ हजार ६ सय २५ मात्र भुक्तानी गरिएको छ ।
पिपिसि गरिएको संरचना भत्किएपछि सामाजिक सञ्जाल र मिडियामा मिथ्या सूचना फैलिएको छ । तर पालिकाले बिग्रिएको कामको रकम कट्टा गरेको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । सो सडक वडा नम्बर ५ मा देवीपुर कृषि सडक अन्तर्गत निर्माण गरिएको थियो । कल्भर्टको स्ल्याव निर्माण र पिसिसि ढलान गरिएको हाे ।
वडाको करिब आधा दर्जन वस्तीका बालबालिकालाई विद्यालयसम्म पुग्ने बाटोमा कल्भर्ट नहुँदा सास्ती खेप्दै आएका स्थानीयले बताए । वर्षातको समयमा स्थानीय लगायत विद्यार्थीहरु फड्केबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो । खोलाको दुबै छेउमा वाल निर्माण भएपनि स्ल्याव निर्माण हुन सकेकाे थिएन ।