© 2026
काठमाडौँ ।
सरकारले वर्षौंदेखि कर विवरण नबुझाएका र जरिवानाको भारले थलिएका व्यवसायीलाई लक्षित गरी कर छुट तथा सहुलियतको घोषणा गरेको छ । तर, कारोबारै नगरी वर्षौँदेखि बन्द रहेका कम्पनी तथा फर्म खारेज गर्न खोज्ने व्यवसायीले कर छुट पाए पनि अन्य सरकारी निकायका प्रक्रिया पूरा गर्न लाखौँ रूपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । सरकारको सहुलियतले कर कार्यालयमा लाग्ने शुल्क र जरिवानामा राहत दिए पनि कम्पनी खारेजीसँग जोडिएका अन्य निकायका दायित्व यथावत् रहँदा व्यवसायीले अपेक्षित लाभ लिन सकेका छैनन् ।
यसको उदाहरण हुन् नुवाकोटका नवीन बाँस्कोटा । वैदेशिक रोजगारीका सिलसिलामा हाल संयुक्त अरब इमिरेट्समा रहेका उनले २०६८ सालमा काठमाडौँमा कृषि सामग्री आपूर्ति गर्ने कम्पनी दर्ता गरेका थिए । बजारमा उधारो कारोबार बढ्दै जानु र सञ्चालन खर्च धान्न नसक्नुका कारण तीन वर्षमै व्यवसाय छाडेर उनी रोजगारीका लागि विदेशिए ।
त्यसयता उक्त कम्पनीबाट कुनै कारोबार भएको छैन । व्यवहारमा १२ वर्षअघि नै बन्द भइसकेको कम्पनीको कानुनी अस्तित्व भने कायम छ । सरकारले शुल्क र जरिवाना छुट दिने व्यवस्था गरेको जानकारी पाएपछि नेपाल आएका बेला बाँस्कोटाले कम्पनी खारेज गर्ने प्रयास गरे । तर, लेखापरीक्षण, घरबहाल कर, स्थानीय तहमा व्यवसाय दर्ता तथा नवीकरणलगायतका प्रक्रिया पूरा गर्न दुई लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि उनी पछि हटे ।
“सरकारले शुल्क र जरिवाना छुट दियो भनेपछि नेपाल आएको मौकामा कम्पनी बन्द गर्न खोजेको थिएँ । तर यहाँ अडिट, घरबहाल कर, नगरपालिकामा दर्ता र नवीकरण गर्न अनेकौँ झन्झट रहेछ,” बाँस्कोटाले भने, “१२ वर्षदेखि बन्द भएको, कारोबार नै नभएको कम्पनी बन्द गर्न दुई–तीन लाख रूपैयाँ खर्च गर्नुपर्ने भएपछि किन बन्द गर्ने ? कसैको खाएर भागेको होइन, चलाउन नसकेर बन्द गरेको कम्पनीको जरिवाना तिर्न नसकेर सरकारले कारबाही गर्छ भने गरोस् ।”
बाँस्कोटाको समस्या वर्षौँदेखि कारोबार नगरी कानुनी रूपमा अस्तित्वमा रहेका धेरै कम्पनी तथा फर्मको साझा समस्या हो । कर कार्यालयले दिने छुटको लाभ लिन खोज्दा कम्पनी रजिस्ट्रार, स्थानीय तह तथा अन्य दर्ता निकायका प्रक्रिया पूरा गर्नुपर्ने भएपछि व्यवसायी थप आर्थिक भारमा पर्ने गरेका छन् । यसले सरकारले घोषणा गरेको सहुलियत र त्यसको व्यावहारिक कार्यान्वयनबीचको दूरी देखाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा वर्षौँदेखि शुल्क, दस्तुर र जरिवानाको भारले थिचिएका करदातालाई सरकारले ऐतिहासिक सहुलियत दिएको बताएका थिए । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत कर छुट तथा सहुलियतको व्यवस्था गरिएको उल्लेख गर्दै उनले पुस मसान्तभित्र त्यसको लाभ लिन आग्रह गरेका थिए ।
आर्थिक ऐनका दफा ४२ देखि ४४ सम्मका व्यवस्थाले लामो समयदेखि आय विवरण, मूल्य अभिवृद्धि कर तथा अन्य कर विवरण पेस नगरेका करदातालाई तोकिएको अवधिभित्र विवरण पेस गरेमा लाग्ने शुल्क, दस्तुर, थप दस्तुर, ब्याज तथा जरिवानामा पूर्ण वा आंशिक छुट दिने व्यवस्था गरेको छ । कर विवादमा अल्झिएका तथा रुग्ण अवस्थामा रहेका करदातालाई समेत निकास दिने उद्देश्यले सरकारले यो व्यवस्था ल्याएको हो ।
अर्थमन्त्री वाग्लेले आयकरको माथिल्लो दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएको र कर छुटको सीमा पाँच लाखबाट १० लाख पु¥याइएको व्यवस्थाभन्दा पनि नयाँ सहुलियतलाई महत्त्वपूर्ण बताएका थिए । तर, कर कार्यालयबाट छुट पाए पनि कम्पनी खारेज गर्न अन्य निकायमा बुझाउनुपर्ने शुल्क तथा करमा स्वतः छुट नहुने भएपछि व्यवसायी समस्यामा परेका छन् ।
नेपालमा कम्पनी तथा फर्मको दर्ता र खारेजी एउटै निकायबाट हुँदैन । व्यवसायको प्रकृतिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग तथा वाणिज्यसम्बन्धी निकाय र स्थानीय तहबाट प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । प्राइभेट तथा पब्लिक लिमिटेड कम्पनी खारेज गर्न साधारणसभाको निर्णय, वार्षिक लेखापरीक्षण प्रतिवेदन, सेयर लगत, स्थानीय तहको सिफारिस र आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्र आवश्यक पर्छ । यी कागजातबिना कम्पनी रजिस्ट्रारको कार्यालयले खारेजी प्रक्रिया अघि बढाउँदैन । कम्पनी रजिस्ट्रारको अभिलेख अद्यावधिक नभएसम्म कर कार्यालयले पनि स्थायी लेखा नम्बर बन्द नगर्ने व्यवस्था छ ।
एकलौटी तथा साझेदारी फर्मको हकमा पनि सम्बन्धित दर्ता निकायबाट खारेजी गर्नुअघि कर चुक्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ । त्यसका लागि स्थानीय तहबाट व्यवसाय कर, घरबहाल कर तथा अन्य दायित्व फछ्र्योट भएको सिफारिस मागिन्छ । यही प्रक्रियाका कारण वर्षौँदेखि कारोबार नगरेका व्यवसायीले पनि पुराना अभिलेख मिलाउनुपर्ने अवस्था छ ।
कलंकी मालपोतका कर अधिकृत विजयप्रसाद लामिछानेका अनुसार आर्थिक ऐनले दिएको सहुलियतअनुसार कर कार्यालयले छुट कार्यान्वयन गरिरहेको छ । तर, फर्म वा कम्पनी बन्द गर्न आवश्यक लेखापरीक्षण र स्थानीय तहको सिफारिसलगायतका प्रक्रिया पूरा नगरी कर छुटको लाभ लिन नसकिने उनले बताए ।
वर्षौँदेखि कारोबार नगरेको कम्पनी खारेज गर्न पनि प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । लेखापरीक्षकले प्रतिवर्ष पाँचदेखि सात हजार रूपैयाँसम्म शुल्क लिने गरेको व्यवसायीको भनाइ छ । यस हिसाबले १० देखि १२ वर्ष पुरानो कम्पनीको लेखापरीक्षणमै ठूलो रकम खर्च हुन्छ । कारोबार शून्य भए पनि हरेक वर्षको विवरण तयार गर्नुपर्ने भएकाले बन्द व्यवसायका सञ्चालकलाई यो प्रक्रिया थप बोझिलो बनेको छ ।
त्यस्तै, संघीयता कार्यान्वयनपछि स्थानीय तहमा समेत व्यवसाय दर्ता र वार्षिक नवीकरण गर्नुपर्ने व्यवस्था लागू भयो । तर, स्थानीय तहको संरचना बन्नुअघि नै व्यवसाय बन्द गरेर विदेशिएका वा अन्यत्र गएका व्यवसायीले स्थानीय तहमा दर्ता गरेका हुँदैनन् । अहिले खारेजीका लागि स्थानीय तहको सिफारिस आवश्यक भएपछि पहिले दर्ता नभएको व्यवसायलाई समेत दर्ता गरी पुरानो अवधिको नवीकरण शुल्क र विलम्ब जरिवाना बुझाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
घरबहाल कर अर्को आर्थिक भार बनेको छ । स्थानीय तहले व्यवसाय दर्ता वा खारेजीका लागि सिफारिस दिँदा घरबहाल मूल्याङ्कन र त्यसबापतको करसमेत हिसाब गर्ने गरेका छन् ।