Butwal Today

कोरला नाका पुग्ने पर्यटक दैनिक १०० बढी

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

मुस्ताङ ।

समुद्री सतहदेखि चार हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरला नाका अवलोकन गर्न दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। हिउँदयामको चिसो मौसममा पनि जोमसोम–कोरला सडकमार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटक नाका पुग्ने गरेका छन्।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङका अनुसार पछिल्लो समय कोरला नाका पर्यटकीय केन्द्र बन्दै गएको छ। जोमसोमदेखि ११० किलोमिटर दूरी पार गरेर पर्यटक नाका अवलोकन गर्न पुग्ने गरेका छन्। बीओपी न्हेचुङका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार सडकमार्ग हुँदै नाका पुग्ने पर्यटकको दैनिक अभिलेख चेकपोस्टले राख्ने गरेको छ।

भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल बढ्न थालेको हो। राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज बनेपछि पर्यटक कोरला नाका अवलोकन गर्न उपल्लो मुस्ताङ पुग्ने गरेका छन्।

हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ। नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ। तर चिसोको बेवास्ता गर्दै आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुगिरहेका छन्। गर्मीयाममा भने नाका अवलोकन गर्न अझ ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्।

कोरला नाका पुग्ने पर्यटकले नेपाल–चीन सीमा क्षेत्रमा रहेको २४ नम्बर सीमास्तम्भ नजिक फोटो, भिडियो र टिकटक बनाउने गरेका छन्। हिउँदयाममा पनि नाकामा पर्यटक र व्यापारिक गतिविधिको चहलपहल देखिन्छ।

कोरला नाकामा पर्यटकलाई लक्षित गरेर करिब १०० भन्दा बढी स्थानीय त्रिपालमुनि व्यापार गर्दै आएका छन्। उनीहरूले दैनिक आलोपालो गरेर सवारीसाधनको सङ्ख्याअनुसार नाकामा पुगेका पर्यटकलाई चिनियाँ सामान बिक्री गर्छन्। गत असोज ११ गते परेको भारी हिमपातले सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएपछि सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकलाई आवतजावतमा समस्या भएको छ।

कोरला नाका पुग्ने पर्यटकले चीनतर्फका ठूला भौतिक संरचना देख्छन्। तर नेपालतर्फ भने आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन। भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक पूर्वाधार नहुँदा नाका व्यवस्थापनमा चुनौती थपिएको छ।

कोरला नाकामा विद्युत् र इन्टरनेट सुविधा नहुँदा पर्यटकले समस्या भोग्नुपरेको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले बताए। नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था भए पनि खानेपानीको समस्या समाधान भएको छैन।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन पु¥याए पनि नाकामा विद्युत् वितरण हुन सकेको छैन। यसले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीलाई समस्या परेको गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?