© २०२३
नवलपुर, २५ असार ।
नवलपरासी विभाजित भएपछि पूर्वी नवलपरासीको सदरमुुकाममा बन्दै गरेको नमुना सदरमुकाम निर्माणका संरचना भत्काउने कामलाई तीव्र पारिएको छ । नमूना सदरमुकाम शिल्यान्यास भएको पाँच बर्ष वितिसक्दा पनि डिपिआर निर्माणमै अलमलिएको यो स्थानमा बल्ल विभिन्न संघसंस्थाका नाममा बनेका संरचना भत्काउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संरचना भत्काउने कार्यलाई अघि बढाएका छन् ।
नवलपुर उद्योग बाणिज्य संघले कावासोती ३, राममन्दिर क्षेत्र भित्र २०७६ सालामा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको छानो लगाउने कार्य सम्पन्न गरेको थियो । २०७८ साल पुस २२ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि स्थान नतोकिदिंदा भवन निर्माण कार्य अन्योलमा परेको थियो । त्यसपछि दलहरुको सहमतिमा अर्को व्यवस्था नहुँदा सम्म अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा प्रशासनले शुक्रबार कुनै जानकारी बिनै शक्तिको प्रयोग गरी भवन भत्काईदिएको महासचिव सागर पोख्रेलले बताए ।
यसअघि नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको साझा संग्रहालय निर्माण स्थलमा बनेको टहरा भत्काएको प्रशासनले त्यसपछि क्षेत्री समाजको भवन र शुक्रबार राती नवलपुर उद्योग वाणिज्य संघको भवन भत्काएको छ ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ अर्यालले आफुहरुलाई कुनै सूचना पनि नदिई प्रशासनले बलजफ्ती भवन भत्काइएको बताएका छन् । उनले भने, “भवन भत्किएपछि मात्र हामीले जानकारी पाएको र जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासन लगायतको सहमतिमै बनाएको भवन जिल्ला प्रशासनले जबर्जस्ती भत्काएको हो ।”
जिल्ला प्रशासनले सुरक्षा निकायको प्रयोग गरी आधिकारिक जानकारी समेत नदिई निरंकुश शौलीमा उद्योग वाणिज्य संघको भवनलाई प्रहरी प्रयोग गरी जबर्जस्ती संरचना भत्काउने काम गरेको र निर्माणमा प्रयोग गरिएका सामग्री समेत जफत गरेर लैजाने कार्य गरेको भन्दै नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ अर्याल र महासचिव सागर पोख्रेलले आपत्ति जनाएका छन् ।
प्रशासनले बल प्रयोग गरी ज्यादतीपूर्ण रुपमा गरिएको यस्तो कार्यको निन्दा गर्दै उनीहरुले जारी गरेको विज्ञप्तीमा यथाशक्य जग्गा व्यवस्थापन गर्ने, भवन निर्माण गर्ने, भत्काईएको भवनको पूर्णरुपमा क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरिएको छ । समस्या समाधान नभएमा चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुने समेत नवलपुुर उद्योग बाणिज्य संघले जनाएको छ ।
कावासोती नगरपालिकाले यहाँ रहेका गुम्बा, मठमन्दिर तथा गुठीलाई भौतिक संरचना निर्माणका लागि बजेट छुट्टयाए पनि प्रशासनले प्रहरी प्रयोग गरेर पटक पटक भौतिक संरचना निर्माण कार्य रोक्दै आएको छ ।
गैडाकोट उद्योग बाणिज्य संघ, देवचुुली उद्योग बाणिज्य संघ, नवलपुुर उद्योग बाणिज्य संघ र मध्यबिन्दुु उद्योग बाणिज्य संघको संयुुक्र बैठकले प्रशासनले गरेको कार्य निन्दनीय रहेको बताउँदै यो घटना नसच्याए आन्दोलनमा जाने निर्णय गरेको उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटट्चनले बताए ।