© २०२३
पाल्पा, २३ असार ।
विगतका वर्षमा जिल्ला प्रहरी कार्यलय, नागरिक समाज सहित सरोकारवाला निकायले आत्महत्या न्यूनीकरणका लागि गरेको प्रयत्नले सार्थकता पाउन सकेको छैन ।
युवा समुहमा खिन्नता, बढ्दो शैक्षिक बेरोजगारी, प्रेम सम्बन्धमा खटपट, दीर्घ रोगी जस्ता कारणले आत्महत्याको घटना बढदै गएपछि प्रहरीको अभियानले सार्थकता पाउन नसकेको हो । आत्महत्या न्यूनीकरणका लागि विगतका वर्षमा प्रहरीले नागरिक समाज र सरोकारवाला निकायसँग समन्वय गरी चेतना मुलक कार्य गरे पनि सफलता पाउन नसकेको जिल्ला प्रहरी कार्यालयको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा भन्छन्, “पछिल्लो समयमा किशोर किशोरीहरुमा प्रेम सम्बन्धमा समस्या उत्पन्न भएपछि र बढ्दो बेरोजगारीका कारण आत्महत्याको बाटो रोज्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।”
जव आत्महत्या समस्याको रुपमा देखा पर्न लाग्यो त्यस भन्दा पुर्व नदी तथा खोलामा हाम फालेर, विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढी थियो । पछिल्लो समयमा आत्महत्याको बाटो रोज्नेहरुले डोरी, रस्सी पासोको रुपमा प्रयोग गर्ने गरेको पाइएको उनको भनाई रहेको छ ।
जिल्ला प्रहरीको विवरण अनुसार लुम्बिनी प्रदेशका मध्ये सबै भन्दा बढीको संख्यामा आत्महत्या गर्ने जिल्ला अन्तर्गत पाल्पा पर्ने भएकाले यसलाई मुख्य समस्याका रुपमा नै लिएर न्युनीकरणका लागि चौतर्फी पहल गर्नुपर्ने अबको मुख्य आवश्यकता भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख हेरम्ब शर्मा बताउँछन् । प्रहरीको विवरण अनुसार गत वैशाख मसान्त सम्म ६७ जनाले आत्महत्या गरेका छन । त्यस मध्ये १८ वर्ष भन्दा मुनीका उमेर समूहका तीन जना, १९ देखि ४० उमेर समूहका २४ जना, ४० भन्दा माथिका उमेर समूहका ४० जना रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा ७० जना भन्दा बढीले आत्महत्या गरेका थिए भने यस आर्थिक वर्षमा गतको संख्या नजिक पुग्न सक्ने अनुमान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका विश्वनाथ न्यौपानेले पनि यो समस्या भयभहको रुपमा देखिएको बताउँछन् । स्थानीय सरकारले यस्ता घटनाको मनो परामर्श सहितको कार्यक्रम ल्याउनु पर्ने तर अहिले सम्म स्थानीय सरकारले ल्याउन नसकेको उनको भनाई रहेको छ । कमजोर मानसिकताको कारण यो एउटा समस्याको रुपमा देखा परेको हो । यस्ता कार्यलाई कम गर्दै लैजानु नै अबको आवश्यकता हो । स्थानीय सरकारसँग नै हातेमालो गरेर सचेतना परामर्श लगायतका कार्यहरु गर्न सकिने उनले बताए