Butwal Today

लक्ष्मी पूजा र देवकोटा जयन्ती

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

आज लक्ष्मी पुजा । नेपालीको घर आँगनमा हर्षोल्लासका साथ आज लक्ष्मीको पुजा गरिन्छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको पहिलो दिन शनिवार यमपञ्चक विधिवत् सुरू भएको छ ।

शुक्रबार धनतेरस थियो । दिपावली उज्यालो पर्व हो र यसले सुख, शान्ति र सम्मृद्धि ल्याउँछ भन्ने विश्वास एवं किम्बदन्ती छ । शनिवार धन्वन्तरी जयन्ती र काग तिहार पर्व मनाइएको छ । नेपालीहरूले परम्परादेखि नै चराहरूको संरक्षण गर्दै आएको काग तिहारले पुष्टी गर्दछ । काग बाठो हुने र सन्देश प्रवाहमा महत्वपूर्ण मानिने भएकोले यसलाई चराहरूको राजा भनिन्छ । तर, यही काग अहिले विनासको सूचिमा परेको छ । काग तिहारले कागको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश पनि प्रवाह गरेको छ । हाम्रा पूर्वजहरूले तिहारको अवसरमा कागको पुजा त्यसै गरेका होइनन् ।

कागलाई राजा बलीको सन्देश बाहकको रूपमा समेत लिने गरिएको छ । काग तिहारको दिन कागलाई मिठो परिकार खान दिएर यसको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश हाम्रा पूर्वजहरूले दिएकै हुन । निश्चितरूपमा कागको प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान छ । काग कराउँदा अनिष्ठ हुन्छ र त्यो पूर्व संकेतको रूपमा बुझ्नुपर्दछ भन्ने पौराणिक मान्यता छ । विश्वका अन्य देशलाई प्रकृतिको यो बरदान मिलेको छैन तर नेपालले कागको संरक्षण गरेको अहिलेसम्म सुनिएको छैन ।

बरु नेपाली जनमानसले तिहारको माध्यमबाट कागको संरक्षण गर्दै आएका छन् । यो अत्यन्त खुसीको कुरा हो । तिहारकै अवसरमा नेपालीहरूले कुकुर पुजा गरि कुुकुर तिहार र गोबर्धन पुजा गरि गाई गोरुलाई मिठो खानेकुरा दिने प्रचलन छ । तिहारलाई उज्यालो, खुसी, उमङ्ग र आपसी सद्भावको पर्वका रूपमा लिइन्छ । तिहारको महत्वपूर्ण दिन आज लक्ष्मी पूजा हो । यस दिन धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा–आराधना गरिन्छ ।

घर, आँगन तथा कार्यस्थल सफा गरी दीपावली गर्ने, दियो तथा बत्ती बाल्ने र घरलाई फूलमालाले सजाउने परम्परा छ । लक्ष्मी पूजाले मानिसलाई सरसफाई, परिश्रम, अनुशासन र समृद्धिको महत्व बुझाउँछ । तर लक्ष्मीपूजाको वास्तविक अर्थ धनसम्पत्तिको कामना गर्नु मात्र होइन, इमानदार श्रम, नैतिकता, सदाचार र सकारात्मक सोचलाई जीवनमा आत्मसात् गर्नु पनि हो भन्नेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । लक्ष्मीपूजाले समाजमा सुख, शान्ति, समृद्धि र आपसी एकताको सन्देश प्रवाह गर्छ । अर्को महत्वपूर्ण विषय के हो भने हरेक बर्ष लक्ष्मी पूजाकै दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पर्दछ । नेपाली साहित्यिक जगतका लागि विशेष महत्वको दिन हो । वि.सं. १९६६ कात्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय योगदान दिएका थिए ।

कविता, निबन्ध, नाटक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाएका देवकोटा नेपाली साहित्यका बहुआयामिक प्रतिभा हुन् । उनको जन्मजयन्तीको अवसरमा उनलाई सम्झने मात्र होइन, उनको तस्बिरमा माल्यार्पण गर्नु वा औपचारिक कार्यक्रम आयोजना गर्नु मात्र होइन, उनको विचार र साहित्यिक योगदानलाई व्यवहारमा उतार्नु पनि महत्वपूर्ण कुरा हो । नयाँ पुस्तालाई उनको साहित्य अध्ययन गर्न प्रेरित गर्नु र नेपाली भाषा साहित्यप्रति रुचि जगाउनु आजको आवश्यकता हो । तसर्थ आजको दिन अझै महत्वपूर्ण छ । लक्ष्मीपूजा र महाकवि देवकोटाको जन्मजयन्ती एकै दिन पर्नु संयोगमात्रै होइन ।

लक्ष्मी पूजालाई केवल धन प्राप्तिको पर्वका रूपमा सीमित नगरी श्रम, इमानदारी र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाउनुपर्छ । त्यसैगरी, महाकवि देवकोटाको जन्मजयन्तीलाई साहित्यिक चेतना, सिर्जनशीलता र मानवतावादी विचारको उत्सवका रूपमा मनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?