Butwal Today

आयो रसिलो चाड तिहार

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

हाम्रो मुलुकमा मनाइने अनगिन्ती चाडपर्वहरू मध्येमा तिहार एक महत्वपूर्ण चाड हो । तिहारमा टाढा गएका दाजुभाई, दिदी बहिनी भेला भएर यो पर्व उल्लासका साथ मनाउने गरिन्छ । यसकारण अति रमणीय मानिन्छ यो पर्व । दाजु भाई नहुनेले नजिकका अन्य दाजुभाई बनाएर टीका लगाउने प्रचलन परापूर्व कालदेखि रहेको पाइन्छ ।

यस्तै दिदी बहिनी नहुनेहरूले पनि दिदी बहिनी साइनो गाँसेर सहर्ष तिहार पर्व मनाउने गर्दछन् । तिहार पर्वको कुरा गर्दा शास्त्रीय विधान अनुसार आरम्भ भएको मानिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा पुगेर बहिनीका हातबाट टीका ग्रहण गरेको प्रसङ्गलाई तिहार पर्वमा जोडने गरिन्छ । यसको साथमा यस पर्वमा दाजु भाइको सम्झना र सम्मानका साथमा पशु तथा पंक्षीको समेत पूजाआजा र सम्मान गर्ने प्रचलन रहिआएको छ ।

वर्ष दिनसम्म भेट नभएका दाजु भाई दिदी बहिनीहरू यो पर्वमा भेट हुने र टीका आदान प्रदान तथा आफ्नो गच्छे अनुसार दिदी बहिनीले दाजु भाइलाई भाइमसला दिने र दाजु भाइले आफ्नो क्षमता अनुसार दक्षिणा दिने चलन छ । यसरी चाड मनाउँदा एक दिन भए पनि आफ्ना सारा दुःख विर्सने अवसर मिल्दछ । तिहार पर्वमा उमेरले जेठो कान्छोसंग सरोकार हुँदैन तर दशैंमा जेठो कान्छो नाता हेर्ने गरिन्छ । तिहारमा नाताको जेठो कान्छो हेरिदैन ।

त्यसैले पनि दाजुु भाइ दिदी बहिनीसंग टीका आदान प्रदान गर्ने गरिन्छ । त्यसैले तिहारमा उमेरले जेठो कान्छो भन्दा पनि नाताको सम्वन्ध बढता प्रगाढ रहेको हुन्छ । तिहार पर्व वास्तवमा हाम्रो लागि अलिक अनौठो खालको पर्व पनि हो । अरू पर्वहरूमा प्रायः गरेर एक वस्तु वा एक देवताको पूजाआजा गर्ने गरिन्छ । जस्तो गौरा पर्वमा दाम्पत्य प्रेमको रूपमा पूजा आरधना गरिन्छ ।

जनै पूर्णीमाको दिन ऋषिहरूलाई तर्पण दिने गरिन्छ । कृष्णाष्टमीमा कृष्णको मात्र पूजा हुन्छ । शिवरात्रीमा शिवको मात्र पूजा हुन्छ । तर तिहारमा हामीले देवदेवीको आरधानामात्र नभएर पशु तथा पंक्षीको समेत पूजाआजा गरेर मनाउने गर्दछौं । यो पर्व खास गरेर पाँच दिनसम्म मनाउने गरिन्छ । पाँच दिनसम्म मनाउने हुनाले यस पर्वलाई यमपञ्चक समेत भन्ने गरिन्छ । यसको आरम्भको दिनमा कागको पूजा गर्ने गरिन्छ । दोश्रो दिनमा कुकुरको पूजा गरिन्छ । तेश्रो दिन गाईको पूजाहुन्छ भने चौथो दिनमा गोरुको पूजा गर्ने गरिन्छ । पाँचौ दिन दाजुुभाईको पूजा हुन्छ । दाजु तिहार र भाइ तिहार नभनेर यसलाई तिहार मात्र भन्ने गरिन्छ । तर टीकाको कुरा गर्दा भाइ टीका भनिन्छ । यस पर्वमा आफ्नै सहोदर दाजु भाइ नहुने र सहोदर दिदी वहिनी नहुनेहरूले नजिकको नाता पर्ने दाजुभाईलाई पनि टीका प्रदान गर्ने गर्दछन् । त्यतिमात्र होइन । कसै कसैले त दाजु भाइ दिदी बहिनी नाता जोडेर पनि टीका लगाउने गर्दछन् ।

यसले तिहारको महत्वलाई अझ बढाएको छ । एकातर्फ हामी पंक्षीको प्रतिकको रूपमा कागको पूजा गर्ने गर्दछौं । हुन त कागलाई यमराजको दूतको रूपमा मानिन्छ । कागको पूजागर्नु भनेको पंक्षीको सम्मान हो । हामी नेपालीहरू पंक्षीप्रेमी हौं भन्ने कुरा यसले पुष्टि गर्दछ । यसैगरी दोश्रो दिन गरिने पूजा कुकुर पूजा हो । कुकुर पूजाको मतलव जनावरको पूजा हो ।

शास्त्र अनुसार कुकुरलाई पनि यमराजको दूतको रूपमा मान्ने गरिन्छ । यसले नेपालीहरू परापूर्वकालदेखि पशुहरूको सम्मानगर्न जान्दछन भन्ने नै हो । पशुपंक्षी मात्र नभएर हामी नेपालीहरू वनस्पतिका पूजक पनि हौं । हामी आँगनमा तुलसी रोप्छौं भने सार्वजनिक स्थानमा बर, पीपल जस्ता विरुवा रोप्ने र वनस्पतिको सम्मानको रूपमा नियमित पूजाआजा समेत गर्दछौं । यसले विरुवा रोपेर मात्र हुँदैन यसको संरक्षण पनि आवश्यक छ भन्ने कुरा सहजै बुुझाउँछ । वनस्पति रोपण, संरक्षण र पूजागर्ने कुरा वातावरणसंग जोडिएर आउने गर्दछ । हामीले हाम्रो सम्पदाको संरक्षण गरेनौ भने हाम्रो वातावरणमा प्रतिकूल असर पर्न जान्छ ।

वातावरण सुरक्षित हुन नसक्नाका कारणले मानव शरीरमा विभिन्न खालका रोगहरूले असर गर्दछन् । जहाँको वातावरण प्रदूषित हुन्छ त्यहाँको वनस्पतिका साथै मानव जीवन पनि प्रदूषित हुने गर्दछ । यसकारण हामी स्वस्थरूपले वाँच्नका लागि हाम्रो वातावरण स्वच्छ हुन आवश्यक छ भनेर बुुझ्नुु पर्दछ । वातावरण स्वच्छ हुनका लागि प्रसस्त मात्रामा वोटविरुवा रोप्नेगर्नु पर्दछ र तिनको संरक्षण गर्नु पर्दछ । हाम्रो हावा सुरक्षित हुनका लागि पनि वनस्पतिको अति ठूलो महत्व छ । वातावरण सन्तुलनका लागि प्रकृतिमा सन्तुलन हुन अति आवश्यक छ ।

त्यसैले विरुवा रोप्न र हुर्काउन आवश्यक छ । हाम्रा कतिपय चाडहरूले हरेक स्थानमा जल, जमिन, जंगलका साथै वनस्पतिको संरक्षणको सन्देश दिएका छन् । परापूर्व कालदेखि मानवसंग जीवजन्तु र वनस्पतिको आपसी सम्वन्ध रहेको छ । जवकी हाम्रो जीवन वनस्पती जीव जनावरमा जोडिएको छ । चाहे हामीले खानाको कुरा गरौं वा हामीले लगाउने कपडाका कुरा गरैं सबै कुरा वनस्पति र जीव जनावरसंग जोडिएको हुुन्छ । यसकारण पनि हामीले चाडहरू मनाउने क्रममा हाम्रा पशुपंक्षी र वनस्पतिको संरक्षणमा जोड दिनुु पर्दछ । हामीले हाम्रो चाडलाई लगेर वनस्पति संरक्षण र पशुपंक्षीको संरक्षणसंग पनि जोडन आवश्यक छ ।

केही वर्ष पहिले कोरानाको कहर भए पनि अहिले त्यो अवस्था छैन । यो वर्ष हामी रमणीय वातावरणमा तिहार पर्वमा जोडिने छौं । हामी यमपञ्चकको पाँचदिन विधि पूर्वक मनाउँने छौं । साथीभाइहरूसंग मिलेर हरेक घरमा विभिन्न प्रकारका बाजा सहित भैलो खेल्नुको मज्जा लिनेछौं । देउसी भैलो खेल्नेहरूले नै यसबाट आनन्द लिनेछन् । यसमा अरू भन्दा बालबालिकाहरू अझ रमाएका देखिन्छन् । आजभोली देउसी खेल्नेहरूको आनिवानीमा थोरै विकृति आएको देखिन्छ । पर्व मनाउनुको नाममा भोलीका दिनमा यस्तै विकृतिहरू बढदै गएभने यो थामीनसक्नुको दूुरावस्थामा पुगिने छ । हामीले मौलिक बाजा बजाउन र गलो मिलाएर भट्टाउन छोडिसकेका छौं ।

हाम्रो तिहारको गीत संगीतमा हामी नाच्न छोडिसकेका छौं । यो पाच्य कुरा होइन । यसको बढोत्तरी भयो भने हाम्रो संस्कृतिमा प्रहार गर्न चाहने तत्वहरू खुब रमाउने छन् । हाम्रो संस्कृतिमा चरणवद्ध प्रहार भइरहको छ । आधुनिकताको नाममा यस्ता खालका विकृति बढदै गएभने हाम्रा खास पर्वको खास महत्व लोपभएर जाने सम्भावना रहन्छ । परंपरादेखि चलिआएका पर्वहरूलाई रसमय बनाउन परंपरागत ढाँचामा मनाउनु पर्दछ । यो ध्यान हामीले नै दिने हो ।

सचेत नागरिकहरूको अवश्य पनि यसतर्फ ध्यान जाने छ । अन्तमा २०८३ सालको तिहार यही कात्तिक २१ गते शनिबार त्रयोदशी तिथि (कागतिहार) देखि २५गते द्वितीया तिथिसम्म रहने छ । यसैबीचमा २४ गते मंगलबारका दिन म्हपूजा अर्थात नेपाल सम्वत् ११४७ आरम्भ हुने दिनका रूपमा रहेको छ । कात्तिक २९ गते छठ पर्वको दिन परेको छ । हाम्रा यी विभिन्न चाड पर्वहरू मनाउने स्वदेश तथा विदेशमा रहनुु हुुने समस्त नेपालीहरूमा हार्दिक मंगलमया शुभकामना व्यक्त गर्दछुु ।

अन्तमा सबै पर्वलाई पर्वको रूपमा मनाऔं । मनमा भएका सबै प्रकारका द्वैश तथा कल्मस साथमा दम्भहरू त्यागेर आम नेपाली दिदी बहिनीहरूको सबै दाजुभाइहरूसंग भेटघाट र टिका आदान प्रदान हुने वातावरण बनोस, यही भनाई सहित तिहार लगायत यो कात्तिकमा परेका सबै पर्वको हार्दिक मंगलमय शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?