© 2026
रोल्पा ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरदेखि सहर बजारसम्म उत्साह र उल्लास छाएको छ । घरआँगन सजाउने, दियो बाल्ने, देउसी भैलो खेल्ने तथा दिदी बहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गर्ने तयारी तीव्र बनेको छ । तिहारको चहलपहल बढेसँगै बजारमा फूलको माग पनि उल्लेख्य रूपमा बढेको छ । यही अवसरमा वर्षभरि मिहिनेत गरेर फूलखेती गर्दै आएका पुष्प व्यवसायीलाई फूल टिप्ने, माला तयार गर्ने र ग्राहकसम्म पु¥याउने चटारो परेको छ । तिहारमा सयपत्री फूलको विशेष महत्व रहने भएकाले यसको माग हरेक वर्ष बढ्ने गरेको छ । घरको ढोका, आँगन, पूजास्थल तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा फूलको प्रयोग गरिन्छ ।
यसैलाई अवसरका रूपमा सदुपयोग गर्दै रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका मधु केसी व्यावसायिक पुष्पखेतीमा सक्रिय छन् । तिहारको समयमा उनको फूलबारी पहेँलपुर बनेको छ । बारीमा फुलेका सयपत्री टिपेर बिक्री गर्न उनी बिहानदेखि साँझसम्म व्यस्त देखिन्छन् । विगतका वर्षमा फूलखेतीबाट राम्रो आम्दानी गर्दै आएका केसीका लागि तिहारको मौसम व्यावसायिक रूपमा महत्त्वपूर्ण समय हो । गाउँमै बसेर कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएका उनले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने प्रयास गरिरहेका छन् । उनको बारीमा उत्पादन भएका फूल रोल्पा र प्यूठानका स्थानीय बजारमा मात्रै सीमित छैनन् । दाङ, बुटवल, काठमाडौँलगायत विभिन्न जिल्लाबाट समेत फूलको माग आउने गरेको छ ।
केसीका अनुसार यस वर्ष फूलको माग राम्रो देखिएको छ । ग्राहकहरू कतिपय फूल खरिद गर्न बारीमै पुग्ने गरेका छन् भने कतिपयले फोनमार्फत अर्डर गर्ने गरेका छन् । विशेषगरी तिहारको मुख्य समयमा फूलको माग बढ्ने भएकाले समयमै टिपेर ग्राहकसम्म पु¥याउनुपर्ने चुनौती रहेको उनले बताएका छन् । कार्तिक २३ देखि २५ गतेसम्म फूल बिक्रीका लागि विभिन्न स्थानबाट माग आएको उनले बताएका छन् । करिब दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती गर्दै आएका केसीको बगैँचामा म्यारिगोल्ड, कर्मा र फ्रिड जातका सयपत्री फूल फुलेका छन् ।
प्रतिकेजी पाँच सय रुपैयाँभन्दा बढी मूल्यमा फूल बिक्री हुने गरेको उनको भनाइ छ । तिहारको समयमा बजारमा फूलको माग उच्च रहने भएकाले उत्पादनलाई व्यवस्थित गर्न सके राम्रो आम्दानी गर्न सकिने उनले बताएका छन् ।
केसीले २०७६ सालदेखि व्यावसायिक रूपमा फूलखेती सुरु गरेका थिए । सुरुको वर्षमा उत्पादन राम्रो भएपछि उनको उत्साह थप बढेको थियो । पहिलो चरणको उत्पादनबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताएका छन् । त्यसपछिका सिजनमा क्रमशः दुई लाख ५० हजार र दुई लाख रुपैयाँसम्म आम्दानी भएको उनको अनुभव छ । फूलखेतीबाट नियमित आम्दानी हुन थालेपछि उनले यसलाई थप व्यवस्थित बनाउने प्रयास गरेका थिए ।
यस वर्षको फूलखेतीमा पनि विभिन्न चुनौती रहेको केसीले बताएका छन् । फूलखेतीका लागि आवश्यक बीउ महँगो पर्ने गरेको छ । एक प्याकेटमा एक हजार दाना बीउ रहने र त्यसको मूल्य पाँच हजार सात सय रुपैयाँ पर्ने उनले बताएका छन् । महँगो बीउ खरिद गर्नुपर्ने, बिरुवा हुर्काउन समय लाग्ने तथा उत्पादनको गुणस्तर कायम राख्नुपर्ने भएकाले यो व्यवसायमा सहजै प्रवेश गर्न सकिने अवस्था नरहेको उनको अनुभव छ ।
उनका अनुसार एक हजार दाना बीउ रोपिएकोमा विभिन्न कारणले ४० वटा बिरुवा मरेका छन् । बाँकी ९६० वटा बिरुवा अहिले फुलेका छन् । बारीभरि सयपत्री फूल ढकमक्क फुल्दा उत्पादनको सम्भावना देखिए पनि यसको निरन्तरताका लागि उचित हेरचाह आवश्यक रहेको उनले बताएका छन् । राम्रोसँग उत्पादन गर्न सके एउटा बोटबाट दुईदेखि पाँच केजीसम्म फूल उत्पादन गर्न सकिने उनको भनाइ छ ।
फूलखेतीलाई सफल बनाउन बिरुवाको गुणस्तर, मौसम, मलजल र रोगकिराको व्यवस्थापन महत्त्वपूर्ण हुने केसीले बताएका छन् । बिरुवा उत्पादनको समयदेखि फूल टिप्ने अवस्थासम्म नियमित हेरचाह गर्नुपर्ने भएकाले किसानले यसलाई सामान्य खेतीका रूपमा मात्रै लिन नहुने उनको अनुभव छ । करिब ४५ दिनसम्म राम्रो उत्पादन लिन सकिने र गुणस्तरीय बिरुवा तयार गर्न सके व्यवसायलाई थप प्रभावकारी बनाउन सकिने उनले बताएका छन् ।
कृषि व्यवसायमा लाग्नुअघि केसी लामो समय वैदेशिक रोजगारीमा थिए । रोजगारीको सिलसिलामा उनी थाइल्याण्ड पुगेका थिए । विदेशमा रहँदा कृषि उत्पादन, व्यवसाय सञ्चालन र विभिन्न प्रकारका खेती गर्ने तरिकाबारे जानकारी हासिल गरेको उनले बताएका छन् । विदेशमा सिकेको अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्ने सोचका साथ उनी स्वदेश फर्किएका थिए ।
विदेशमा लामो समय बिताएपछि गाउँमै केही गर्नुपर्छ भन्ने भावना विकास भएको उनले बताएका छन् । कृषि क्षेत्रलाई आत्मनिर्भरता र आर्थिक समृद्धिको आधारका रूपमा लिँदै उनले विभिन्न व्यवसायमा हात हालेका छन् । व्यावसायिक कुखुरापालन, स्केटपार्क सञ्चालन तथा अन्य उद्यममा समेत संलग्न हुँदै आएका केसीले गाउँमै रोजगारी र आम्दानीको सम्भावना खोजिरहेका छन् ।
४२ वर्षीय केसी कक्षा १२ सम्म अध्ययन गरेका छन् । वैदेशिक रोजगारीमा सिकेको अनुभव, मेहनत र लगनशीलतालाई गाउँमै प्रयोग गर्न सकिने उनको विश्वास छ । युवाहरू रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै व्यवसाय गर्न सकिने उनले बताएका छन् । कृषि उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन सकिने उनको भनाइ छ ।