© २०२३
काठमाडौं ,२ असार ।
राष्ट्रपतिको दुई कार्यकाल सफलतापुर्वक सम्पन्न गरी बसेकी नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा फर्कन लालायित नभएको बताएकी छन् ।
प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसंग बुढानिलकण्ठस्थित निजी निवासमा कुराकानी गर्दै उनले आफु एमालेको राजनीतिमा फर्कन लालायित नभएको बताएकी हुन् । भण्डारीको आगामी योजना के होला ? भन्ने आम सर्वसाधारणको कौतुहलतालाई मेट्दै उनले भनिन् ,‘ म नजिकबाट हेरिरहन्छु ।’ भण्डारीले भनिन, ‘राजनीतिमा जाँदै जाँदिन, हँुदै हुन्न भन्ने चाहिं होईन । कहिलेकाहीं समय र परिस्थितिले मान्छेलाई धकेल्न पनि सक्छ ।’ तर, उनले अहिलेको अवस्थामा त्यतातिर नसोचेको बताईन ।
‘एमाले मात्र होईन, नेपाली काँग्रेसको नेतृत्वको पनि चिन्ता लाग्छ,’ भण्डारीले भनिन्, ‘कुनै राष्ट्रिय ब्यक्तित्व होस् वा पार्टी ड्यामेज भयो भने देशलाई घाटा हुन्छ ।’
निवर्तमान राष्ट्रपति भण्डारीले वर्तमान राष्ट्रपतिबाट जारी नागरिकता विधेयकप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले नागरिकता विधेयक देश र जनताको हितमा नभएकाले आफुले दुई पटक फिर्ता गरेको बताउँदै भनिन् ,‘नेतृत्वले गल्ती गर्दा देशले सजाय भोग्नुपर्ने हुन्छ । त्यसैले, यस्ता संवेदनशिल विषयमा नेतृत्व गम्भीर हुनुपर्छ । नागरिकता विधेयक जारी गरिनु ठीक होइन्, ठिक होईन, फेरि पनि भन्छु, यो गर्न नहुने काम भएको छ ।’ उनले नयाँ संसद आएपछि पास गरोस् भनेर आफूले त्यतिबेला फिर्ता गरेको बताईन् । तर, अहिले राष्ट्रपतिले संविधानविपरीत विधेयक जारी गरेर जनताको भावना विपरीत काम गरेको जिकिर गरिन् ।
भण्डारीले देशको वर्तमान अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिन् । वायु प्रदुषण जसले जनस्वास्थ्यमा पारेको असर, जलवायु परिवर्तनले पारेको प्रभाव, देशको बेरोजगारी समस्या, जसका कारण युवा विदेश पलायन, वर्तमान आर्थिक संकट र कृषि क्षेत्रको विकास नहुँदा आयात बढिरहेको र बजेट घाटा बजेट बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो समय आफुले चाहेको बिषय पढ्न नपाएर ठुलो जनशक्ति विदेशिएको र उनीहरुसँगै चाहेको विषय पढ्न नपाएर ठुलो संख्यामा नेपाली विदेशिनु पर्ने तीतो यथार्थता रहेको बताइन् । नर्सिङ पढ्न चाहे कलेज बन्द, मेडिकल पढ्न चाहे कलेज बन्द छन् । ठुलो रकम डलर कन्भर्ट भएर विदेशिएको छ भन्दै भण्डारीले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनलाई शिक्षालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिदै आफुले अबको समय यतातिर लगाउने पनि बताईन् ।
निवर्तमान राष्ट्रपति भण्डारीले जलवायु परिर्तनले ठुलो असर पारेको बताउँदै हरियाली प्रवद्र्धन गर्ने कार्यमा अबको समय लगाउने पनि बताईन् । उनले भनिन, ‘अबको समय जलवायु अनुकुलनका लागि हरियाली प्रवद्र्धन गर्ने । जमिनको पानी सुकेर गैरहेको छ । आकाशबाट आउने पानीलाई जम्मा गर्ने ।’ उपत्यकामा वायु प्रदुषणको चाप बढेकोले यसले जनताको स्वास्थ्यमा नकरात्मक असर पारेको भन्दै भण्डारीले भनिन् ,‘नयाँ सवारी साधन किन्दा विद्युतीय सवारी साधन खरिद गर्न अपिल गर्नुपर्छ ।” उनले नेपालको मौलिक पहिचान हामो्र राष्ट्रियता जोगाउनुपर्नेमा जोड दिईन् । भण्डारी राष्ट्रपतिबाट बिदाई हुने क्रममा सरकारी आवास लगायतका सुविधा नलिएर बुढानिलकण्ठ स्थित निजी निवासमा बसेकी छिन् ।