© २०२३
बुटवल – त्यसबेला म पूर्णकालीन पत्रकार थिएँ । दैनिक लुम्बिनीको सम्पादक भएपछि मैले सम्वत् २०५४ मा नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएको हुँ । शुरुको एक कार्यकाल केन्द्रीय पार्षद बाहेक मैले कहिल्यै कुनै पद लिइन । त्यसपछि मैले पत्रकारिता छोडेँ र आफ्नो शैक्षिक योग्यता अनुसारको इन्जिनियरिंग पेशामा आवद्ध भएँ ।
पत्रकारिताले मलाई समाज र देशलाई हेर्ने मात्रै होइन, फेर्नका लागि विचार गर्ने र वाक स्वतन्त्रताको सदुपयोग गर्दै ती विचारहरुलाई अभिव्यक्त गर्न सिकाएको थियो । लेख्न सिकाएको थियो । मेरो त्यो लेखाई कहिल्यै रोकिएन । वर्षौदेखि ‘बुटवल टुडे’ मा ‘अन्तिम किनारबाट’ स्तम्भ लेखिरहेको छु । बेलाबखत राष्ट्रिय मिडियाहरुमा समेत लेखिरहेको छु । साहित्यिक सिर्जनाको हुटहुटीले पनि मलाई निरन्तर लेख्न लगाइरहेको छ ।
र, म पहिल्यैदेखि स्पष्ट छु, जति लेखे पनि मूलतः म एक पत्रकार होइन । एउटा लेखक, कवि वा इन्जिनियर कहिल्यै पत्रकार बन्न पनि सक्तैन । पत्रकारितालाई साँच्चै नै राज्यको चौथो अंग बनाउने हो भने पत्रकार हुनुको प्रतिष्ठा र गरिमा पूर्णकालीन र व्यवसायिक पत्रकारहरुले मात्रै बचाउन सक्छन् । ती पत्रकारहरु जसमा पत्रकारिताप्रति आस्था, विश्वास र एक हदसम्म ‘जुुनून’ हुन्छ ।
ढिलो गरी भए पनि पत्रकार महासंघले अहिले सदस्यता शुद्धिकरण अभियान चलाएको छ । अरु कुनै पेशा र सुरक्षित क्षेत्रको ‘कम्फोर्ट जोन’ मा रहेर पनि पत्रकारको ‘पगरी गुत्थ्ने’ कामले पत्रकारिताको स्वच्छता र निष्पक्षतामा प्रश्न त उठ्छ नै, पूर्णकालीन र व्यवसायिक पत्रकारहरुमा निराशा र आक्रोश पनि उत्पन्न हुन सक्छ ।
अन्तमा पत्रकारिता क्षेत्रमा नरहेर पनि लामो समयसम्म आफ्नै अकर्मण्यताका कारण पत्रकार महासंघको सदस्यता ‘होल्ड’ गरिरहेकोमा आत्मालोचित हुन्छु । र, महासंघको सदस्यता शुद्धिकरण अभियानको पूर्ण सफलताको कामना गर्दै आजैबाट लागू हुने गरी नेपाल पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गर्दछु ।
लामो समयसम्मको सहकार्य र सद्भावका लागि महासंघ रुपन्देहीको नेतृत्व र समस्त पत्रकार मित्रहरुलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु ।
(नेपाल पत्रकार महासंघ, रुपन्देहीलाई सदस्यता त्यागेको स्वघोषणा गर्दै गिरि श्रीस मगरले लेखेको निवेदन)