© २०२३
बुटवल, ५ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर अर्थात भैरहवालाई स्मार्ट सिटीका रुपमा विकास गरिदै छ । सिद्धार्थनगर नगरपालिकाले एडिबीसंग मिलेर सडक बिस्तार, ढलनिकास लगायतमा काम गरेपछि केही वर्षअघिसम्मको अस्तव्यस्त भैरहवा पछिल्लो समय व्यवस्थित बनेको छ । भैरहवाका सागर क्षेत्रीले पहिले पहिले साँघुरा र धुलाम्मे सडक अहिले चिल्ला र फराकिला बनेको र वर्षामा डुवाउने समस्या पनि कम हँुदै गएको बताए । फोहोरले दुर्गन्धित सार्वजनिक क्षेत्र र सडक अहिले सफा सुग्घर बनेपछि भैरहवा आकर्षक र सुन्दर देखिएको उनले बताए ।
अहिले भैरहवालाई सौन्दर्यीकरण गर्ने काम समेत भइरहेको छ । उज्यालो बनाउन र रात्रीकालीन समयमा नगरको सौन्दर्यता बढाउनका लागि नगरका मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान भएको छ । सिद्धार्थनगर नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गरी नगरको विभिन्न चोक र सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडान भएको हो ।
नगरको अधिकांश सडकमा सडक बत्ती नहुँदा नगरवासीलाई रातीको समयमा हिंड्डुल गर्न समस्या थियो । ‘स्मार्ट स्ट्रिट लाईट’ जडानले रातिको समयमा नागरिकहरुको सुरक्षित यात्रा र नगरको सौन्दर्यता समेत बढेको स्थानीय सीता भुसाल पाण्डेले बताइन् । बिहानै मर्निङ वाक गर्ने र रातिमा हिड्ने मान्छे लुटिने समस्या पनि कम भएको उनले जानकारी दिइन् ।
नगरको बुद्ध चोक, देवकोटा चोक, बेलहिया चोक, मिलन चोक लगायत २७ स्थानमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडान भएका छन् । चोक चोकमा ठूल्ठूला लाइट र अन्य सडकहरुमा सडक बत्ती जडान भएका छन् । नगर क्षेत्रमा जडान हुने लाइटहरु विद्युत प्राधिकरणको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको उपप्रमुख उमा अधिकारीले बताइन् । उनका अनुसार सबै लाइटहरु विद्युत प्राधिकरणले जडान गरेको हो । ‘जडान भएका सडक बत्ति कम विद्युत खपत हुने खालका छन् । ती आकर्षक पनि छन् । केही समयपछि सिद्धार्थनगर आउनेहरु पहिलेको सिद्धार्थनगर र अहिलेको देख्दा अचम्म पर्ने उनले बताइन् ।
‘स्मार्ट स्ट्रिट लाइट’ जडानले नगरपालिकाको विकासमा एउटा ईट्टा थपिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताए । उनले नगरमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडानले साँझ र रातिको समयमा हिंड्डुल गर्न सहज हुनुका साथै नगरको सौन्दर्यीकरणमा समेत टेवा पुग्ने बताए । पर्यटक नेपाल प्रवेशको द्वार र बुद्ध जन्मस्थल लुम्बिनी जाने केन्द्रमा रहेको भैरहवा सुन्दर हुँदा देशकै इज्जत बढ्ने उनले जनाए ।
नगर प्रमुख खानले फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, वृक्षारोपण, लाइट जडान, पूर्वाधार विकासलगायतका लागि तीव्र रुपमा अघि बढाएको बताए । नगर कार्यपालिकाको निर्णयमा नगरवासीको हितमा काम गरिरहेको र छिट्टै नै नगरपालिकाको मुहार फेरिने र सिद्धार्थनगर मुलुककै नमुना नगरपालिका बन्ने उनले बताए ।