© २०२३
बुटवल, २८ वैशाख ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा लुम्बिनीमा आजदेखि दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट बीआईटीएम शुरु भएको छ ।
विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम आयोजना गरिएको आयोजकको भनाइ छ ।
कोभिड महामारीपछि नेपालको पर्यटन गतिविधि सामान्य रूपमा पुनः सुचारु भइरहेको परिप्रेक्ष्य पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्ध भूमि लुम्बिनीलाई केन्द्रमा राख्दै वैशाख २८ देखि ३० गतेसम्म बीआईटीएम आयोजना गरिएको नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले बताएका छन् ।
नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना हुने बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको सचिवालय नाट्टाले वैशाख २८ देखि ३० गतेका लागि भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशहरुबाट ट्राभल/टूर कम्पनीहरू सहभागी हुने थापाले जानकारी दिए । नेपालबाट पनि सोही संख्यामा ट्राभल/टूर कम्पनीहरू विक्रेताका रूपमा सहभागी गराई बी टु बी कार्यक्रम तयारी गरिएको उनले बताए ।
कार्यक्रमको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले उद्घाटन गरेका छन् । यसअघि लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गरिएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी प्रमुख अतिथि भएको अन्तिम समयसम्म प्रचार गरिए पनि उनी आएनन् । विकसित राजनीतिक घटनाक्रमले उनी नआएको बुझिएको छ ।
लुम्बिनीको होटल पवन प्यालेसमा बी टु बी कार्यक्रम आयोजना हुने र सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनार हुने नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।
बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टूररट्राभल कम्पनीहरू र होटल व्यवसायीले विदेशी टूररट्राभल कम्पनीहरूसँग व्यापार साझेदार गर्ने सम्भावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन थप मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट लुम्बिनीलगायत बुद्धिस्ट सर्किटको विश्वव्यापी प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने बताए ।