© २०२३
पछिल्लो तीन महिनामा तपाईंले कुन पुस्तकको सुरूदेखि अन्त्यसम्म पढ्नु भयो ? विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका सन्दर्भमा हामी सबैले मनन गर्नुपर्ने भएको छ कि हामी कति पढ्छौं । आइसल्याण्डका ५० प्रतिशत मानिसहरूले वार्षिक आठवटा पुस्तक पढ्छन् र त्यहाँका ९३ प्रतिशत मानिसहरूले वार्षिक एउटा पुस्तक पढ्छन् । पढ्नु किन जरुरी छ ? केही पाठकहरू राम्रो पुस्तकमा घुमिरहन्छन् भने कोही कथामा हराउँछन् । कसैलाई पात्रको जीवन, ब्यक्तित्व र साहसिक कार्य वा आदर्श कार्यले आकर्षित गर्दछ । तर केही मानिसहरूले पढ्ने समय हुदैन वा ध्यान नै जादैन भनेर पठनमा रुचि नदेखाउने पनि गर्दछन् । तर विभिन्न अनुसन्धान र लेखहरूमा पठनका धेरै फाइदाहरू भएको र मानिसको सकारात्मक कल्याण वा कुशल मङ्गलका लागि सहयोगी हुने बताइएको छ ।
पुस्तक जहाँ पनि पढ्न सकिन्छ । बसमा यात्रा गर्दा, सवारी साधन पर्खिरहँदा, घरमा, साँझ, बिहान जुनसुकै समयमा र स्थानमा पुस्तक पढ्न सकिन्छ । पुस्तक पढ्नाले पाठकको भाषिक शब्द भण्डार र विश्वको बारेका ज्ञान बढ्दछ । यसले विभिन्न विचारहरूका लागि मस्तिष्कमा ठाउँ खुला गर्दछ र हाम्रो विद्यमान विचारलाई चुनौति दिन्छ । पठन कार्यमा लागिरहने मानिसमा समालोचनात्मक र सिजएनात्मक सिपको विकास हुन्छ । आफूमा भएका आग्रह वा पूर्वाग्रहहरूको पुनःविचार गरी नयाँ सोंच विकास गर्नका लागि पुस्तकले प्रभावकारी भूमिका खेल्दछ । त्यसपछि हामीले संसारलाई फरक दृष्टिकोणबाट हेर्ने बानी विकास हुन्छ । पठन ज्ञानका लागि र पठन पठनकै लागि आवश्यक छ । हामीमा लिखित सामग्रीलाई ग्रहण गर्ने क्षमताको विकास पठन संस्कृतिबाट मात्र सम्भव छ ।
पढाइले शब्द भण्डार, विश्व ज्ञान र पठन सिप विकास गर्ने मात्र होइन पठनले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक सहयोग पुग्दछ । योगा वा शारीरिक अभ्यासले जस्तै पठनले तनाव कम गर्ने, र उच्च रक्तचाप र मुटु रोगीहरूका लागि समेत सहयोगी हुने पाइएको छ । यसका अतिरिक्त पठनका निम्न फाइदाहरू छन् ।
– प्ठनले हाम्रो मस्तिष्कको सशक्तिकरण गर्दछ । सोंचाइ र स्मरण शक्ति बढाउँछ ।
– पठनले परानुभूतिको भावना विकास गर्दछ । यसले गर्दा सम्बन्धमा सुधार आउँछ ।
– पठनले तनाव वा डिप्रेशन हुनबाट रोक्दछ ।
– पठन संस्कृतिका कारण उमेर अनुसार विस्मरण हुने प्रबृत्ति क मगर्दछ ।
– पठनले राम्रो निद्रा पर्नुका साथै जीवन लम्ब्याउँछ । बढ्दो मोबाइल वा कम्प्युटर स्क्रिनको लतबाट जोगाएर पुस्तकले निद्रा सहज बनाउँछ । जब कि डिजिटर स्क्रिनले मानिसहरूको सुताइ ब्यवहारमा नकारात्मक प्रभाव पारिरहेको छ ।
पठनका कारण बालबालिकाहरूमा असल ब्यवहार विकास हुने, घरमा पढ्ने वानी परेका बालबालिकाले विद्यालय पढाइमा समेत राम्रो प्रभाव पर्ने भएकोले औपचारिक शिक्षामा समेत पठन संस्कृतिको सकारात्मक प्रभाव पर्दछ । पढ्ने वानी भएका बालबालिकामा आत्म सन्तुष्टि, आत्म सम्मान र सञ्चार सिपको विकास हुने गर्दछ । आफूलाई ज्ञानात्मक पक्षमा सबल ठानेर सिकाइ प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुने उत्प्रेरणा प्राप्त गर्दछन् ।
पढ्नका लागि अचेल धेरै स्रोत वा पुस्तकहरू उपलब्ध छन् । हामीले प्रयोग गनेै अन्य सागम्रीका तुलनामा पुस्तक सस्तो र सर्बसुलभ पनि हुन्छ । के पढ्ने भन्ने छनोट गर्नुभन्दा उपलब्ध सबै विधाका सबै सामग्री पढ्दा राम्रो हुन्छ । साथी, शिक्षक वा अभिभावकबाट सिफारिस गरिएका पुस्तकहरू अझ प्रभावकारी हुन सक्छन् । तसर्थ आजैबाट पुस्तक खोजौं, बसौं, पढौं र पढाइबाट हुने फाइदाहरू लिन सकौं । विश्व पुस्तक दिवसको यही शुभकामना ।