© २०२३
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो।
रविले सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले चितवनमा उम्मेदवारी दर्ता गराएसँगै यता सर्वोच्चमा पनि उनीविरुद्ध राहदानी दुरुपयोग मुद्दा दर्ता भएको हो।
रिट हालेका सफलले सर्वोच्चले अध्ययन गरिरहेकाले केही दिनमा दर्ता हुने बताएका थिए। सर्वोच्चले रिट परेको भोलिपल्टै दर्ता गरेर पेशीको समय मंगलबारका लागि तोकेको छ।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ। उनीविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।
यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए। उक्त रिट दर्ता भएसँगै अब मंगलबारदेखि सुनुवाइ अघि बढ्न सक्छ।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए।
नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख छ।