© २०२३
बुटवल, १७ चैत ।
नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ । मिडिया सम्मेलनमा महासंघको सदस्यता शुद्धिकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ ।
राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासंग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।
‘महासंघमा सदस्यता शुद्धिकरणको मुद्दा सधै उठ्ने गरेको छ र सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ’ उनले भने–‘शाखाहरुले निर्णय लिन सक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ राष्ट्रिय मिडिया सम्मेलनमा त्यसबाहेक पत्रकारहरुको समस्या र मिडियामा आर्थिक संकटको कुरा उठाएको उनले बताए ।
पछिल्लो समयमा मुलुकमा आर्थिक संकट सिर्जना भएको र त्यसका कारण होस् या अन्य कारणबाट उत्पन्न भएका पत्रकारहरुको समस्या पहिचान गर्ने र समाधानको लागि पहल गरिने छ भने मिडिमा उत्पन्न भएको आर्थिक संकट समाधानको लागि के गर्न सकिन्छ भन्ने कुराको समेत खोजी गर्न लागिएको हो ।
अर्को अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पत्रकार र मिडियासंग सम्बन्धित विधेयकहरु निर्माणका क्रममा रहेको तथा कतिपय विधेयकहरु निर्माण भईसकेका छन् । बनिसकेका विधेयकमा भएका नराम्रा कुराहरु केलाउने र बन्ने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले बताए ।
उक्त राष्ट्रिय मिडिया सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमुलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनीधिहरु गरी २ सय जना भन्दा बढीको सहभागिता रहने छ ।
राष्ट्रिय मिडिया सम्मेलनको उदघाटन सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गर्नेछिन् । नेपाल पत्रकार महासंघको स्थापना दिवसकै सन्दर्भ पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो ।