© २०२३
दाङ, ९ चैत ।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन् ।
स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतपरिणाम अनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिष्पर्धी महराले ६ सय २० मत मात्रै प्राप्त गरेका छन् ।
क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्र्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कुलविर चौधरीले जानकारी दिए ।
त्यसैगरी सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका वसन्त भण्डारी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत ल्याइ बिजयी भएकी छन् भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरी पराजित भएका छन् । सदस्यमा नेविसंघका वसन्त कंडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल बिजयी भएका छन् । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि विप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते निर्वाचन भएको थियो । सो क्याम्पसमा पाँच हजार नौ सय ४० मतदाता रहेकोमा दुइ हजार एक सय ३२ मत खसेको मतदान अधिकृत चौधरीले जानकारी दिए ।