© २०२३
बर्दघाट, ६ चैत ।
आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट चिसापानीमा अनेरास्ववियु प्यानल नै विजयी भएको छ ।
नेकपा बहुमत पार्टिको भातृ सँगठन अनेरास्ववियु (क्रान्तिकारी) सँग तालमेल गरी चुनावी मैदानमा उत्रीएको एमालेको भातृ सँगठन अनेरास्ववियुका सभापति पदका उम्मेदवार किरण बश्याल भारी मतान्तरले विजयी भएका हुन् ।
कुल १ हजार ४ सय ४७ मतदाता विद्यार्थी मध्ये ८ सय ९१ मत खसेकोमा अनेरास्ववियुका किरण बश्यालले ५ सय ७० मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सँघका वसन्त गिरीले २ सय ९५ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा सन्देश सापकोटाले ५ सय २१ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धि इश्वरी भुसालले ३ सय १८ मत प्राप्त गरेकी थिइन । कोषाध्यक्ष पदमा सुरज भट्टराइले ५ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि तृष्णा चौधरीले ३ सय ४८ मत प्राप्त गरेकी थिइन् ।
सदस्यहरुमा असिम पौडेल, समिक्षा पाण्डे, बद्रि प्रसाद सुवेदी, निशा कुमारी चौधरी, प्रदिप तिवारी, दिक्षा धिताङ्ग सार्कि, विमला गिरी र इश्वर पोखरेल निर्वाचित भएका छन् । नतिजा घोषणा पश्चात सम्बोधन गर्दै नवनिर्वाचित सभापति बश्यालले निर्वाचन एक प्रकृया भएको र नतिजा पश्चात जुनसुकै सँगठनको नेतृत्व भएपनि सबै विद्यार्थीहरुको हकहितको लागि आफूले काम गर्ने बताएका थिए ।
नतिजा घोषणा पश्चात क्याम्पस प्रमुख सागर पाण्डेले निर्वाचन प्रकृया शान्तिपूर्ण रुपमा सफल सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।