© २०२३
बुटवल, ५ चैत ।
स्ववियू निर्वाचन भएका रुपन्देहीका क्याम्पसहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पश्चिमाञ्चलकै दोस्रो ठूलो क्याम्पस मानिएको बुटवल बहुमुखी क्याम्पसमा जम्मा ३७ प्रतिशत विद्यार्थीले मात्र मतदान गरेका छन् । ७ हजार १ सय १० मतदाता रहेकोमा कुल २ हजार ६८१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
रुपन्देहीका क्याम्पसहरुमध्ये बुटवल बहुमुखी क्याम्पसको निर्वाचनलाई विद्यार्थी संगठनहरुले चासोका साथ हेरेका छन् । यो क्याम्पसमा यसअघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । मतगणना आजैबाट गर्ने तयारी रहेको छ ।
यता, रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो । पहिलोपटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा स्ववियुको अध्यक्षमा अभिषेक कुमार यादव, सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु, आशिष जयसवाल र लक्ष्मी वि.क. निर्वाचित भएको निर्वाचन अधिकृत ईन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
निर्वाचित ८ जनामध्ये विक अनेरास्ववियुकी हुन् । त्यस्तै ७ जना समानुपातिकमध्ये ५ जना नेविसंघका र २ जना अनेरास्ववियुका रहेको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए । २०२ जना विद्यार्थी रहेको कलेजमा १६४ जनाले मात्रै मतदान गरेका थिए ।